आज विश्व प्रेस स्वतन्त्रता दिवस

नेपालमा एक वषर्मा ६० प्रेस स्वतन्त्रता हननका घटना
922
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख(ओएनएस) : आज मे ३ अर्थात २०० विश्व प्रेस स्वतन्त्रता दिवस ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ नेपालमा पनि आज विविध कार्यक्रम गरिँदैछ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले यूएनडिपी र निर्वाचन आयोग नेपालसमेतको सहकार्यमा प्रेस स्वतन्त्रता राष्ट्रिय सम्मेलनको आयोजना गरेका छन् । यसैगरी पत्रकार महासंघका प्रदेश समिति र जिल्ला शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एक शुभकामना सन्देश जारी गर्दै प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र हाम्रो देशभित्रको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हनन्का घटनाको सार्वजनीकीकरण र स्वतन्त्रताको प्रतिरक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्ने तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्ने यो दिनको विशेष महत्व रहेको बताएका छन् ।

अध्यक्ष आचार्यले यस अवसरमा नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति जीवन वलिदान गर्नुहुने योद्धाहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षमा अविराम संघर्ष गर्नुहुने सबै महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

नेपालमा २०७५ सालमा प्रेस स्वतन्त्रताको अवस्थाबारे उल्लेख गर्दा २०७५ साल संघीयता कार्यान्वयन र कानून निर्माणको वर्षका रूपमा रह्यो ।

अघिल्लो वर्ष २०७४ सालमा तीन वटै तहका निर्वाचन सम्पन्न भएर बनेका संघ, प्रदेश र स्थानीय तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटअनुरुप कार्य अघि बढाएका छन् ।
यसैगरी तीनवटै तहका संसदले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका दर्जनौ कानून बनाएका छन् भने कैयौ कानून संसदमै विचाराधिन अवस्थामा रहेका छन् ।

नेपालमा प्रेस स्वतन्त्रता हनन्का घटनाका कुरा गर्दा मुख्यरूपमा राजनीतिक गतिरोध, आन्दोलन वा द्वन्द्व जारी रहेको अवस्थामा प्रेस र पत्रकारहरूलाई बढी आक्रमण हुने गरेको पाइन्छ ।

त्यसैगरी कानून निर्माणका क्रममा पनि प्रेस स्वतन्त्रताका पक्षमा महासंघले सशक्त लविङ् गर्नुपर्ने अवस्था भयो । पत्रकार मंहासंघका अनुसार २०७५ मा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका छन् ।

यी ६० घटनामा ७७ जना पत्रकार र ५ सञ्चार संस्था पीडित भए । अघिल्लो वर्ष २०७४ मा ६३ वटा घटना भएका थिए । २०७५ मा अनलाइन सञ्चार माध्यममा समाचार लेखेकै आधारमा पत्रकारलाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गर्ने क्रम बढ्नुले नेपाली पत्रकारितामा नयाँ चुनौति थपिएको महासंघको ठहर छ ।

संघीयता कार्यान्वयनको यस वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण बनेको महासंघले जनाएको छ ।

विभिन्न तहहरूमा कानून निर्माणको प्रक्रिया अघि बढिरहँदा कतिपय ऐन र प्रस्तावित मस्यौदाहरूमा प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्ने संविधानका धाराहरू विपरित हुने खालका प्रावधानहरू पनि राखिएको छ ।

नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएतापनि विभिन्न ऐन तथा कानून मार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौति रहेको महासंघले उल्लेख गरेको छ ।

२०७५ भदौं १ गतेबाट लागू भएको मुलुकी देवानी (संहिता), फौजदारी (संहिता) सम्बन्धी ऐनका विभिन्न दफाले प्रेस स्वतन्त्रतालाई संकुचन पार्दछन् ।

यसमा महासंघसहित सरोकारवाला पक्षको राय सुझावका आधारमा सच्चाउने राज्यको प्रतिवद्धता अझै पूरा हुन नसकेको उल्लेख गरिएको छ ।

संघीय सरकारले संसदमा पेश गरेका, मस्यौदा गरेका एवम् प्रदेश सरकारले बनाएका सञ्चार सम्बन्धी विद्येयकहरुमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्चाउन महासंघले निरन्तर आवाज उठाँउदै आएको छ र केन्द्र तथा सातवटै प्रदेशका सरकारलाई नमूना कानूनको मस्यौदा बनाएर हस्तान्तरण गरिसकेको छ ।

नेपाल पत्रकार महासंघले नेपालमा हुने प्रेस स्वतन्त्रता हनन्का घटनाहरूको निरन्तर अनुगमन गर्दै आइरहेको उल्लेख गरिएको छ ।

२०५६ सालदेखि महासंघले प्रेस स्वतन्त्रता हनन्का घटना अभिलेखीकरण गर्दै आएको छ । हाल महासंघमा यसका लागि छुट्टै सञ्चार अनुगमन इकाइको व्यवस्था गरिएको छ ।


  •  
  •  
  •