काठमाडौ, ३ असोज(ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान २०७२’ जारि भएकोमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना तथा बधाई ज्ञापन गरेका छन् । संविधान जारी भएको घोषणा गरेलगत्तै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आग्रह पछि देशबासीका नाममा संक्षिप्त सम्बोधन गर्दै राष्ट्रपति यादवले जनताका प्रतिनिधीले लोकतान्त्रिक अधिकार, राष्ट्रिय एकताका लागि बनाएको संविधान घोषणा गर्ने यो ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
उनले नेपाली जनताले झण्डै ७ दशकको लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको जनताको चाहनाले मूर्त रूप लिएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनका शहिद, सहयात्री जनता र जननायकहरूप्रति सम्मान प्रकट गरेका छन् ।
सम्बोधनका क्रममा उनले भने, ‘यस संविधानको घोषणासँगै हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । नेपाली जनतामा निहित सार्वभौमसत्ता, राष्ट्रिय शक्तिको स्रोत पनि स्थापित भएको छ ।’ उनले अगाडि भने, ‘संविधानको घोषणासँगै देश दिगो शान्ति, राजनीतिक स्थायित्व, देश आर्थिक उन्नतिको दिशामा अगाडि बढ्ने हाम्रो विश्वास छ ।’
उनले नयाँ संविधानले सबै क्षेत्र र समुदायको विविधताको बीचमा एकताको, सबै प्रकारको विभेदको अन्त्य गर्न यस संविधानले प्रदान गर्ने विश्वास लिएका छन् । उनले हिमाल, पहाड, तराई मधेसका सम्पन्न दिदीबहिनी तथा दाजुभाईहरूलाई यस ऐतिहासिक अवसरमा पारस्परिक एकता, सहिष्णुता, मेलमिलापका साथ यस संविधानसभाबाट प्राप्त भएका उपलब्धी, संघियतासहितको गणतन्त्रलाई
सामाजिक न्याय, अधिकार, समृद्धी प्राप्त गर्न निरन्तर प्रयास गर्न आग्रह गरेका छन् ।
जनताका प्रतिनिधीद्वारा पारित यो संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र जनतामा निहित सार्वभौमिकताको संरक्षण गर्ने साझा दस्तावेज भएको राष्ट्रपति यादवको भनाई थियो ।
अन्त्यमा उनले संविधान जारी भएको यो ऐतिहासिक क्षणमा यसका लागि योगदान पुर्याउनुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी, संविधानसभाका मान्य सदस्यहरूलाई सभाध्यक्षमार्फत धन्यवाद दिएका छन् ।