राष्ट्रपतिले चार दलका नेतालाई भने : तपाईहरु भन्नुहुन्छ भने अहिल्यै पद छाड्न तयार छु

210
  •  
  •  
  •  

Ram-Baran-Yadav_1काठमाडौं, २५ असार (ओएनएस) :  राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार बिहान चारका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा राष्ट्रपति यादवले संविधानको पहिलो मस्यौदा जनता समक्ष पुगेकोमा खुसि व्यक्त गरेका थिए ।

साथै राष्ट्रपतिले मस्यौदा धेरै जनतामा छलफल हुन आवश्यक भएको बताउँदै भने, ‘छलफल राम्रै हुन पाओस्, कसैले ‘समय’ पाइन भन्ने गुनासो नआओस्, केही दिनको ढिलो चाँडोले असन्तुष्टि नदेखियोस् ।’

साथै राष्ट्रपतिले पदमा बसिरहन कुनै चाहाना नभएको बताउँदै पद भन्दा पनि संविधान जारी गर्नु ठूलो भएको बताए ।

उनले संविधान जारी गर्ने दिन जिन्दगीको सबैभन्दा खुसिको दिन हुने बताउँदै भने, ‘ यसमा कसैको पद लम्ब्याउने सोचाइ सम्बन्धमा शंका नगरियोस, तपाईहरुले भन्नुहुन्छ भने अहिल्यै छोड्न तयार छु । विगतमा पनि यही कुरा राखेको थिएँ । चार दललाई भनेको थिएँ । तपाईहरुलाई शंका लाग्छ भने सादा पानामा लेखेर ल्याउनुस् म सही गर्न तयार छु । ’

उनले संविधानबाट जनताको सार्वभौमसत्ता, लोकतन्त्र, गणतन्त्र, संघीयता र कानूनको शासन बलियो होस भन्दै संघीयता अहिले नै टुङ्ग्याउन सुझाव दिए । भेटमा भूकम्पको उद्धारमा देखिएको सफलता र राजनीतिक दलहरुबीचको एकता  स्वागतयोग्य भएको राष्ट्रपतिले बताएका थिए ।

भेटमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागि थिए ।


  •  
  •  
  •