दलहरुबीच वार्ता सुरु नभए संयुक्त छलफल चलाउने राष्ट्रपतिको तयारी

268
  •  
  •  
  •  

ram baranकाठमाडौ, १६ माघ (ओएनएस) : संविधान निर्माणको विषयमा दलहरुबीच विवाद बढेपछि राष्ट्रपति डा. रामबरण यादवले सहमतिका लागि पहल गर्ने भएका छन् ।

सत्तापक्ष र विपक्षी दलहरुबीच बढेको दुरी कम गर्न मध्यस्थता गर्ने विषयमा उनले परामर्श गरिरहेका छन् । सत्तापक्ष दल र संविधानसभाका अध्यक्षसँग छलफल गरेका राष्ट्रपति यादवले शुक्रबार विपक्षी मोर्चाका नेता तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग भेट गरे । भेटका क्रममा राष्ट्रपतिले संवादमार्फत विवाद अन्त्य गर्न आग्रह गरेका थिए ।

राष्ट्रपतिले पहिलो चरणमा सहमतिका लागि एकल छलफल गर्ने तथा दलहरुबीच वार्ता सुरु नभए दोस्रो चरणमा सयुक्त छलफल गराउने तयारी गरेका छन् ।

बिहीबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँगको भेटमा पनि उनले संयुक्त छलफल चलाउने बारेमा पनि चासो राखेका थिए । विपक्षीको आग्रहबीच पनि सभामुखले प्रक्रिया अघि बढाउने तयारी गरेपछि बढ्दो तनाव रोक्न राष्ट्रपति यादवले आइतबार मध्याह्नसम्म पनि प्रयास गरेका थिए । प्रक्रिया सुरु भएसँगै उनले दलका नेताहरूलाई पालैपालो शीतलनिवास बोलाएर संवाद पनि गरिसकेका छन् ।

एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले कांग्रेस, एमाले र संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग वार्तामा नबस्ने निर्णय गरेपछि राष्ट्रपतिले संवादको पहल गर्नुपर्ने आवश्यकता महसुस गरेका हुन् । तर, कसरी वार्ताको पहल गर्ने भन्ने योजना अझै बनि सकेकोे छैन ।

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आइतबार सत्तारुढ दल, सभामुख र सरकारले बोलाएको छलफलमा भाग नलिने निर्णय गरेपछि राष्ट्रपति कार्यालयतिर सबै दलको ध्यान केन्द्रित भएको छ ।


  •  
  •  
  •