प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने, “अहिले संविधान आएन भने संविधानसभाबाट कहिल्यै संविधान आउदैन”

481
  •  
  •  
  •  

President Ram Baran Yadav (left) and Prime Minister Sushil Koirala. Photos: THT file

काठमाडौ, १६ भदौ(ओएनएस) : प्रधानमन्त्री सुशिल कोइरालाले अहिले संविधान ल्याउन नसक्ने हो भने नेपालमा कहिल्यै संविधान नआउने दावी गरेका छन् । देशको पछिल्लो राजनीतिक अवस्थाको बारेमा राष्ट्रपति डा. रामवरण यादवलाई बुधवार जानकारी गराउदै प्रधानमन्त्री कोइरालाले संविधान ल्याउन नदिन अहिले विभिन्न किशिमका आन्दोलनहरू भइरहेको बताए ।

संविधान ल्याउन नदिनको लागि विभिन्न किसिमका दवावहरू आएको पनि प्रधानमन्त्रीले संकेत गरेका थिए । तर, ती दवाव कहाँबाट कस्को हो भन्ने बारेमा चाँही प्रधानमन्त्रीले केही पनि बताएनन् । विशेषगरी तराईमा भएको आन्दोलन र त्यसलाई सम्बोधन गर्न सरकारले गरिरहेको प्रयासका बारेमा राष्ट्रपतिले जिज्ञासा राखेपछि प्रधानमन्त्रीले त्यसमा प्रष्ट्याउदै संविधान आफूले अहिलेनै ल्याईछाड्ने जानकारी गराएका हुन् ।

बालुवाटार स्रोतले भन्यो, “राष्ट्रपतिको चाहना मधेशका दलहरुलाई पनि समेटेर जानु भन्ने थियो त्यसमा प्रधानमन्त्रीले समेट्न कोशिस गरिरहेको र फोनमा कुराकानी भएको जानकारी गराउनु भयो ।” प्रधानमन्त्रीले “फोनमा सबै कुरा ठिक छ, तर भेटेर कुरा गरौँ भन्दा आउदै आउदैनन् मैले के गरौँ ?” भनेर उल्टै राष्ट्रपतिलाई प्रतिप्रश्न गरेका थिए ।

“अहिले थोरै पनि मैले खुट्टा कमाए भने संविधान विरोधीहरुको मनोबल बढ्छ जसले संविधान ल्याउने दिने छैनन् र यो कुरा भन्छु अहिले संविधान नल्याउने हो भने संविधान कहिल्यै आउदैन” प्रधानमन्त्रीको भनाई थियो । झण्डै ४५ मिनेटसम्म भएको छलफलमा राष्ट्रपतिले संविधान ल्याउन नदिने बाधक को हो भनेर सोध्दा प्रधानमन्त्रीले “त्यो कुरा मेरो मुखबाट भन्न नलाउनुस् तपाई आफै पनि बुझ्नु हुन्छ नी” समेत भनेका थिए ।

प्रधानमन्त्रीले मधेशी दलहरुसँगको कुराकानीलाई आफूले बिशेष ध्यान दिएको भन्दै त्यसको लागि अन्तिम समय सम्म पनि प्रयास गर्ने जानकारी गराएको प्रधानमन्त्रीका एक सहयोगीले जनाए ।


  •  
  •  
  •