काठमाडौँ, १३ फागुन(ओएनएस) : अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका ६६ वटा उत्पादनलाई अमेरिकामा निर्यात गर्दा लाग्ने भन्सार छुट सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् ।
बुधबार अमेरिकी राष्ट्रपति ओबामाले विधेयकमा हस्ताक्षर गरेपछि गलैँचा, टोली, च्यादर, कार्पेट, गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्रीसहितका ६६ प्रकारका सामान भन्सार छुट पाउनेछन् । नेपालले यस्तो छुट आगामी १० वर्षसम्म पाउने छ । गत वैशाखको विनाशकारी भूकम्पले गरेको क्षतिपछि आर्थिक पुनरुत्थानमा सघाउने गरी यस्तो व्यवस्था गरिएको काठमाडौं स्थित अमेरिकी दूतावासले जनाएको छ । उक्त विधेयकले नेपालको व्यापार गर्ने क्षमतामा अविवृद्धी गर्न पनि अमेरिकाले सहयोग गर्ने छ ।
‘यो विधेयकले नेपाली उत्पादनलाई अमेरिकी बजारमा राम्रो अवसर प्रधान गरेको छ,’ नेपालका लागि अमेरिकी राजदूत एलाइना बि टेपलिजले भनिन्, ‘’विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौता नेपालको योजना र अमेरिकी सरकारले यस लक्ष्यतर्फ कसरी योगदान गर्न सक्छ भन्ने विषयमा हामीलाई थप जान्ने उत्सुकता छ ।’
विधेयक लागू गर्नका लागि केही प्रशासनिक काममात्र बाँकी रहेको अमेरिकी दुतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, अमेरिकी बजारमा यस्ता सामग्रीको आयात वृद्धि हुँदा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पर्ने छैन भन्ने सुनिश्चित गर्नका लागि अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले नेपालले सुविधा पाउने कार्यक्रमको समीक्षा गरेपछि नेपालबाट निर्यातित सामग्रीमा वैधानिक भन्सार छुट प्राप्त हुनेछ । यो समीक्षा पूरा हुन केही महिना लाग्ने अमेरिकी दूतावासले उल्लेख गरेको छ ।
[box type=”shadow” ]
.@POTUS द्वारा नेपाललाई विशेष व्यापार ग्राह्यता स्वीकृति दिने कानुनमा हिजो हस्ताक्षर । https://t.co/TMvlRc2Lcz pic.twitter.com/WofjIZM8Ng
— U.S. Embassy Nepal (@USEmbassyNepal) February 25, 2016
[/box]