राष्ट्रपति र मन्त्रीको झगडाले चीन अप्ठेरोमा

201
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (ओएनएस) : चीनको राजधानी बेइजिङमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे आफ्ना चिनियाँ समकक्षीसँग जुन दिन भेटवार्ता गर्दै थिए, सोही दिन सिंहदरबार, काठमाडौँमा चिनियाँ राजदूत उ चुन्थाई र अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले २० अर्ब ८३ करोड रुपियाँबराबरको द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर गरे ।

नेपाल–चीन दौत्य सम्बन्धको ईतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो रकमको सहयोग सम्झौतामा हस्ताक्षर गर्दा किन यस्तो दिन रोजियो, जुन दिन दुई मुलुकका परराष्ट्रमन्त्री एकै थलोमा भेट्दै थिए ? र, किन मन्त्रीस्तरीय भेटको अवसरमा उक्त सम्झौता गरिएन ? अर्थात्, किन सहयोग सम्झौताका लागिमात्र छुट्टै तर, मन्त्रीभन्दा मर्यादाक्रममा निकै पछाडि रहेका अधिकारीहरुको स्तरमा गरियो ? मन्त्री पाण्डेलाई ‘बाइपास’ गरेर आयोजना गरिएको सहयोग सम्झौता कार्यक्रमलाई लिएरु कूटनीतिक वृत्तमा विभिन्न रुपमा अथ्र्याइँदै छ ।

सरकारी स्रोतहरुका अनुसार, गृह्य कुराचाहिँ यो घटना राष्ट्रपतिको आसन्न चीन भ्रमणसँग सम्बन्धित रहेको छ । राष्ट्रपति रामवरण यादव चीनको उष्ण प्रदेशीय टापु हैनानस्थित बोआओ सहरमा यही चैत १२ देखि १५ सम्म हुने बोआओ एसिया फोरमको वार्षिक सम्मलनमा सहभागी हुँदैछन् । त्यसक्रममा उनले चिनियाँ समकक्षी सी जिन पिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसको तयारीका लागि परराष्ट्रमन्त्री चीन भ्रमणमा गए । तर, चीन जानुअघि उनी जसको भ्रमण कार्यक्रम मिलाउन गए, उनै राष्ट्रपतिसँग एक क्षण शिष्टाचार भेटसमेत गरेनन् ।

आफूसँग नभेटी भ्रमण कार्यक्रम मिलाउन गएका पाण्डेसँग राष्ट्रपति यादव रुष्ट छन् । उनको असन्तुष्टिबारे सुइको पाएछि हतारहतारमा नेपालस्थित चिनियाँ राजदूतावासले उक्त सहयोग सम्झौता कार्यक्रमको चाँजो मिलाएको हो । उच्च सरकारी स्रोत भन्छन्, ‘राष्ट्रपति जाने भनेर निश्चित भइसकेको कार्यक्रममा दुई राजनीतिक व्यक्तिबीचको असझदारीले रोकिनु उचित हुँदैनथ्यो । त्यसैले पाण्डेको भ्रमणलाई बढी महत्व दिएको नदेखिने र राष्ट्रपतिलाई पनि सन्तुलनमा राख्नका लागि केही काम गर्नैपथ्र्यो । त्यही गरियो ।’

राष्ट्रपतिलाई नभेटेको कुरालाई लिएर मन्त्री पाण्डेले सेरेमोनियल राष्ट्रपति भएकाले भेट्नुपर्ने जरुरी छैन भन्ने प्रतिक्रिया दिएका थिए । राष्ट्रपति यादव पनि पाण्डेलाई त्यसको जवाफ दिन आफूसँग कसैलाई पनि सवारी मन्त्री नलाने भएका छन् । उनको यो भ्रमण राजकीय नभए पनि औपचारिक हैसियतको हुनेछ । दुई देशका राष्ट्रपतिबीचको भेटघाट कार्यक्रममा उपस्थित हुनबाट परराष्ट्रमन्त्री पाण्डे वञ्चित हुनेछन् ।

अर्को छिमेकी मुलुक भारतमा तीनपल्ट औपचारिक भ्रमण गरिसकेका राष्ट्रपति यादव दोस्रोपल्ट चीन भ्रमणमा जान लागेका हुन् । यसअघि उनी सांघाई वल्र्ड एक्स्पोमा सहभागी हुने क्रममा यादवले तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति कुनै मुलुकको औपचारिक भ्रमणमा जाँदा समकक्षीसँग भेट गराउन नसक्नुलाई नेपालको कूटनीतिक कमजोरीका रुपमा टिप्पणी हुँदै आएको थियो ।

यसपल्ट समकक्षीसँग त भेट हुने भयो तर, परराष्ट्रमन्त्रीको अनुपस्थितिले उनको भ्रमणलाई सरकारले महत्व नदिएको सन्देश जान सक्ने कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् । मन्त्री र राष्ट्रपतिबीचको द्वन्द्वले यस्तो स्थिति आउनु झनै बिडम्बनापूर्ण भएको एक पूर्वपरराष्ट्रमन्त्रीको टिप्पणी छ ।

नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६० औँ वर्षगाँठ मनाउने क्रमको एउटा कडीका रुपमा राष्ट्रपति यादवको आसन्न भ्रमणलाई लिइएको छ । केही महिनाअघि काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति यादवलाई भेटेर बोआओ फोरममा आतिथ्यताका लागि निम्तो दिएका थिए ।


  •  
  •  
  •