राष्ट्रपति निर्वाचन आज, भण्डारीको जित लगभग निश्चित

144
  •  
  •  
  •  

काठमाडौँ, ११ कात्तिक(ओएनएस) : दोस्रो राष्ट्रपति चयनका लागि आज व्यवस्थापिका संसदमा निर्वाचन हुँदैछ । राष्ट्रपति पदमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुलबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने एमाले नेतृ तथा उपाध्यक्ष भण्डारी राष्ट्रपति हुने लगभग निश्चित जस्तै छ । उनलाई सत्तारूढ दलहरूले समर्थन गर्ने भएपछि यस्तो उक्त नतिजाको अपेक्षा गरिएको छ ।

अहिलेसम्मको स्थितिमा कुनै परिवर्तन नभए आजको निर्वाचनबाट भण्डारी मुलुकको नयाँ राष्ट्रपति बन्नेछिन् । संसदको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म मतदान हुनेछ । १३ दलको समर्थन रहेको र कांग्रेससँग हिजोसम्म सहमतिका लागि प्रयास गर्दा असफल भएकाले आज अब कुनै सहमति नहुने भएकाले भण्डारीको जित निश्चित भएको बताइन्छ ।

आज मतदान सकिएपछि दिउँसो साढे २ बजेदेखि मतगणना हुनेछ भने पौने ५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गर्नेछ । त्यसपछि आजै साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्नुहुने कार्यतालिका रहेको सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । राष्ट्रपतिको चुनावमा आन्दोलनरत मधेस केन्द्रीत दलहरुले भने भाग नलिने बताइसकेका छन् ।

आजै हुने भनिएको उपराष्ट्रपतिको निर्वाचन भने शनिबार हुने गरी संशोधित कार्यतालिका पनि व्यवस्थापिका संसदले हिजो नै सार्वजनिक गरिसकेको छ ।


  •  
  •  
  •