राष्ट्रपतिले दलहरुलाई भने : चीनबाट फर्कदा खुसीको खबर सुन्न पाउँ

188
  •  
  •  
  •  

Ram-Baran-Yadav_1काठमाडौं, ८ चैत (ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई  शीतल निवासमा डाकेर संविधानमा विवादित विषयमा सहमति गर्न  आग्रह गरेका छन् ।

बिहिबार चीन भ्रमण गर्नुअघि सबै दलका नेतालाई राष्ट्रपति भवनमा बोलाएका राष्ट्रपतिले आफ्नो भ्रमणबारे दलहरुलाई जानकारी गराएका थिए ।

उनले बैठकमा पाँच बुँदा प्रस्तुत गर्दै धेरै विषयमा सहमति भएको उल्लेख गर्दै इमान्दार मन राखेर संघीयता लगायत बाँकी विषयहरुमा निकास पहिल्याउन सक्षम हुने विश्वास व्यक्त गरे । चीनबाट फर्कँदा संविधान निर्माणको विषयमा खुसीको खवर सुन्न पाउने आफूले अपेक्षा गरेको पनि राष्ट्रपतिले उल्लेख गरेका छन् ।

साथै उनले देश र जनता प्रती जिम्मेवारी वोध र दलीय सद्भाव कायम गर्दै संविधानसभा भित्रै वहस र मन्थन गरेर मुलुकलाई नयाँ संविधान दिन उनले आग्रह गरे ।

संविधानसभामा तीनभन्दा बढी सभासद प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई समेत छलफलका लागि पत्र लेखेरै निम्ता गरिएको थियो । छलफलमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमेत सहभागी थिए । राष्ट्रपति यादवले चैत १२ देखि १८ गतेसम्म चीन भ्रमण गर्दैछन् ।


  •  
  •  
  •