राष्ट्रपतिको निर्वाचनका लागि आज रातिदेखि मौन अवधि शुरु, मनोनीत सदस्यले मतदान गर्न नपाउने

319
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन (ओएनएस) : राष्ट्रपतिको निर्वाचनका लागि अाज शनिबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ।

फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न नपाउने निर्वाचन अायाेगले जनाएकाे छ।

आयोगले आज सो निर्वाचनको सञ्चालन र व्यवस्थापनका लागि मतदान अधिकृत र सम्बन्धित कर्मचारीलाई तालीम दिएको छ। यसैबीच, आयोगले अन्तिम मतदाता नामावलीमा समावेश नभएका निर्वाचक मण्डलका सदस्यले मतदान गर्न नपाउने स्पष्ट पारेको छ।

यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्ने अायाेगले जनाएकाे छ। उक्त पदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका कुमारी लक्ष्मी राईले उम्मेदवारी दिएकी छन्।

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले उक्त पदमा मतदान गर्नेछ।

फागुन २२ गते सदस्यहरुकाे अन्तिम नामावली प्रकाशित भइसकेकाे आयोगका प्रवक्ता नवराज ढकालले बताए।

अन्तिम नामावली प्रकाशित भइसकेपछि अदालतले राष्ट्रियसभामा मनोनीत तीन सदस्यहरुकाे सपथ ग्रहण गर्न बाटाे खाेलेकाे हुनाले उनीहरु मतदान गर्न पाउने छैनन्।

प्रवक्ता ढकालले भने,’ अन्तिम नामावली प्रकाशित हुदाँ उहाँहरुकाे नाम समाबेश नभएकाे हुनाले उहाँहरु मतदान गर्न पाउने छैनन्।’

 


  •  
  •  
  •