हावाहुरीमा परी ज्यान गुमाएकाको सम्झनामा प्रदेश सरकारले शोक मनाउने

542
  •  
  •  
  •  

जनकपुरधाम, २४ चैत(ओएनएस) : प्रदेश २ सरकारले हावाहुरीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा यहि चैत ३० गते शोक मनाउने भएको छ ।

राष्ट्रिय शोक घोषणा गर्न गरेको आग्रहलाई संघीय सरकारले अस्वीकार गरेपछि प्रदेश सरकार आफैंले शोक मनाउने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरुको १३ औं दिनको पुण्य तिथिमा चैत ३० गते शोक मनाउने निर्णय गरेको छ ।

३० गते बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।

बैठकले मृतक परिवारलाई किरिया खर्च वापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जानकारी दिएका छन् ।

गएको आइतबार साँझ आएको बिनाशकारी हावाहुरीका कारण कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।


  •  
  •  
  •