गहना धितो राखेर प्रेमप्रकाशको उपचार

227
  •  
  •  
  •  

काठमाडौं २५ चैत ।  चन्दा संकलन गरेको पैसाले नपुगेपछि गायक प्रेमप्रकाश मल्ल ‘मधुकर’को उपचार छोरीको गहना बैंकमा धितो राखेर सुरु गरिएको छ।
लखनउमा कृष्ण मेडिकल सेन्टरका न्युरो सर्जन डा. पीयूष मित्तलको टोलीले उनको उपचार गरिरहेको जेठी छोरी वाणीश्री मल्लले जानकारी दिइन्।
मल्लको टाउकोमा रगत जमेको ठाउँमा चार घन्टा लगाएर अप्रेसन गरेपछि स्वास्थ्य सुधारोन्मुख भएको उनले जानकारी दिइन्।
 
मल्ललाई शुक्रबार एम्बुलेन्सबाट लखनउ लगिएको थियो। लखनउमा उनको साथमा जेठी छोरी वाणीश्री मल्ल, कान्छी छोरी विजयाश्री शाह, नाति दीप मल्ल र सुनील मल्ल छन्। उनलाई गत बुधबार पनि उपचारका लागि लखनउ पुर्‍याइएको थियो।
त्यहाँ स्वास्थ्यपरीक्षण तथा सिटी स्क्यान गरेपछि डाक्टरहरूले तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए। तर, पैसा अपुग भएपछि उनलाई पुन: नेपालगन्ज फर्काइएको थियो।
नेपालगन्ज मेडिकल कलेजका न्युरो सर्जन डा. सञ्जीव झाले पनि सकेसम्म चाँडो शल्यक्रिया गर्न सल्लाह दिएपछि बैंकमा गहना धितो राखेर अप्रेसन गर्ने निर्णय गरिएको छोरी वाणीले बताइन्।
लामो समयदेखि अस्वस्थ रहँदै आएका मल्लको अवस्था विगत केही दिनदेखि अत्यन्त कमजोर भएको छ। उनी नेपालगन्जमा छोरी वाणी र ज्वाइँ बखतबहादुर मल्लका साथ बस्दै आएका छन्।
मल्लको स्वास्थ्यस्थितिप्रति सरकारी निकायले कुनै चासो नदेखाएकाले उपचारका लागि नागरिक स्तरबाट सहयोग आवश्यक रहेको स्थानीय पत्रकार पूर्णलाल चुकेले बताए।
भेरी साहित्य समाजका अध्यक्ष तथा प्राज्ञ हरिप्रसाद तिमिल्सिना, साहित्यकार इन्द्र बस्नेतलगायतको सक्रियतामा समाजका पदाधिकारी तथा अन्य व्यक्तिबाट संकलित २० हजार, डा. गोपालप्रसाद अधिकारीको अग्रसरतामा बुद्ध स्कुलका शिक्षक/ विद्यार्थीबाट संकलित पाँच हजार र पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरबाट संकलित १० हजार रुपैयाँ उनकी छोरी वाणीलाई हस्तान्तरण गरिएको छ।
यस्तै साहित्यकार विकास विष्ट तथा समाजसेवी मीना श्रेष्ठको पहलमा अमेरिकामा बसोबास गर्ने प्रवासी नेपालीबाट पनि सहयोग संकलन भइरहेको बताइएको छ। अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •