प्रतिबन्ध हटाउन इरानको आग्रह

238
  •  
  •  
  •  

तेहरान/एजेन्सी । इरानी राष्ट्रपति हस्सन रौहानीले इरानमाथि लगाइएको प्रतिबन्धहरु हटाउन संयुक्तराज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वार्ताका लागि खुला रहेको बताएको भोलिपल्टै राष्ट्रपति रौहानीको यस्तो प्रतिक्रिया दिएका हुन् ।

सरकारी टेलिभिजनबाट प्रशारित एउटा भाषणमा राष्ट्रपति रौहानीले भने, ‘पहिलो कदम भनेकै प्रतिबन्धहरु हटाउनु नै हो । इरानमाथि लगाइएका सबै गैरकानुनी, अन्यायपूर्ण र गलत प्रतिबन्धहरु फिर्ता हुनु पर्दछ ।’
उनले, ‘सकारात्मक परिवर्तनको साँचो वासिङ्टनको हातमा छ ।’ ‘अमेरिकी सरोकार सही हो भने यसलाई हामीले पहिल्यै सम्बोधन गरिसकेका छौं । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले जारी गरेको एउटा आदेशबाट यो कार्यान्वयनमा आइसकेको छ ।’

खामेनीले सन् २००३ मै आणविक हतियार नबनाउने बारेमा विशेष आदेश (फत्वा) जारी गरिसकेको इरानी दाबी छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धको घोषणा गरेका थिए ।


  •  
  •  
  •