पूर्वी पहाडकोे ‘प्रसूति हब’

142
  •  
  •  
  •  

ओखलढुंगा, चैत २ (ओएनएस) :  ओखलढुंगाको माधवपुर गाविस– ६ की सुष्मा मगरले दुई साताअघि ओखलढुंगा सामुदायिक अस्पतालको ‘प्रसूति सेवागृह’ दुई हप्ता बसेर बच्चा जन्माइन् । ‘यहाँ खाने, बस्नेसहित प्रसूति गराउने सुविधा रहेछ’ उनले भनिन्, ‘अस्पतालमा बसेकाले सुत्केरी व्यथाको डर नहुँदा प्रसव पीडा पनि कम हुने रहेछ ।’

‘मिसनमा धेरै खर्च लाग्छ होला भनेर डराउँदै आएका थियौँ, आबास र ग्याँस समेत सित्तैमा पाइने रहेछ’ सिन्धुली, रातमाटाकी सरिता खत्रीले पहिलो पटक गर्भवती भएकी भाउजुलाई प्रसुति गराउन ल्याउँदाको अनुभव यसरी सुनाइन् ।

प्रसूति सेवागृहमा निशुल्क खान बस्न मात्र होइन स्वास्थ्य शिक्षा समेत पाउने भएपछि ओखलढुंगाबाहेक, खोटाङ, सोलुखुम्बु, उदयपुर र सिन्धुलीसम्मका महिलाहरु प्रसुति गराउन महिनादेखि १५ दिन अगावै अस्पताल आउने गरेका छन् ।

प्रसूति समस्याका कारण कतै आमाले ज्यान गुमाएको वा कतै खर्च नभएर अस्पताल जान नपाएका खबरलाई ओखलढुंगा सामुदायिक अस्पताल मिसनको प्रसूति सेवा गृहले चुनौती दिएको छ । १२ वर्षदेखि सञ्चालित सेवाबाट १ हजारभन्दा बढी आमाले सुविधा लिइसकेका छन् ।

गर्भवतीको अवस्था हेरेर प्रसूति सेवा गृहमा बस्न सल्लाह दिइन्छ । ‘पेटमा उल्टो बच्चा भएको, जुम्ल्याहा भएको वा अन्य कुनै स्वास्थ्य समस्याले बच्चा जन्माउन जोखिम भएकालाई यहाँ राखिन्छ’ प्रसूति गृहमा एक दशकदेखि काम गर्दै आएकी निर्मला श्रेष्ठले भनिन्– ‘यहाँ सुत्केरी गराउने कसैले पनि ज्यान गुमाउनु परेको छैन ।’

Parsuti_201

सबै सुविधा निशुल्क पाउने र जोखिम नहुने भएपछि पूर्वी पहाडी जिल्लाका महिलाहरु प्रसूति गराउन मिसन आउने गरेका छन् । खोटाङ, सोलुखुम्बु सिन्धुली लगायतका जिल्लाहरुमा जोखिममा परेका महिलाहरुको प्रसूती गराउन शल्यक्रिया नहुने भएकाले ओखलढुंगा आउने गरेका हुन् । प्रसूति सेवागृह संचालन हुँदा यो अस्पताल पूर्वकै ‘प्रसूति हब’को रुपमा पहिचान बनाउँदै छ । ‘यो अस्पताल प्रसूति हब नै बनिसक्यो, पूर्वीपहाडका प्रायः महिलाहरु यही आउन थालेका छन्’ अस्पतालका स्वास्थ्यकर्मी निर्वाण दाहालले भने ।

चिकित्सकले सेवागृहमा बस्न भनिसकेपछि अस्पतालले बस्ने शय्या र खानका लागि आवश्यक दाल, तरकारी, चामलको निशुल्क व्यवस्था गर्छ । बिरामीको साथमा एक कुरुवा बस्न पाउँछन् । खाना भने आफैंले पकाउनुपर्छ । हरेक दिन स्वास्थ्य जाँच गर्नुका साथै मातृ,  प्रजननलगायत स्वास्थ्य शिक्षा दिने गरिएकोछ । सरकारले उपलब्ध गराएको प्रसूति सेवा र यातायात खर्चका अतिरिक्त प्रसुति सेवा गृह संचालन गर्न दातृ संस्था नर्वेको नोरमिसनले गरिरहेको छ । ‘बिरामीको संख्या बढेको बढ्यै छ, दीर्घकालीन व्यवस्थापन गर्न भने चुनौती थपिएको छ’ अस्पतालका प्रशासकीय अधिकृत बुद्ध श्रेष्ठले भने ।

आर्थिक ०७०/०७१ मा जिल्ला स्वास्थ्य कार्यालयमार्फत प्रसूति सेवाका लागि १६ लाख ४७ हजार ८ सय अस्पताललाई उपलब्ध गराएको थियो । यातायात खर्चबापत ७ लाख ७७ हजार रुपैंया थियो । तर, प्रसूति सेवामै वास्तविक खर्च ४० लाख ३ हजार ५ सय ११ रुपैयाँ भएको छ । तथ्यांकअनुसार २० लाख २१ हजार २ सय ८९ रुपैयाँ थप खर्च अस्पतालले बेहोरेको छ ।

गत आवमा प्रसूति सेवा गृहबाट ३ सय ५३ जना गर्भवतीले सेवा लिएका थिए भने चालू आवको ७ महिनामा १ सय ९० जना पुगिसकेका छन् । सेवा लिन ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, खोटाङ, सिन्धुली र उदयपुरबाट बिरामी आउने गरेको अस्पतालका निर्देशक टुकबहादुर श्रीमलले जानकारी दिनुभयो । केही महिनायता सोलुखुम्बुका बिरामी बढेको अस्पतालको तथ्यांकमा उल्लेख छ । प्रसूति सेवा गृहको क्षमता १० भए पनि एकपटकमा १८ जनासम्म बिरामी राख्न सकिने अस्पतालले जनाएको छ ।


  •  
  •  
  •