विपक्षीका एजेण्डालाई पनि समेटेर प्रश्नहरु तयार

158
  •  
  •  
  •  

काठमडौं, २३ माघ (ओएनएस) : प्रस्ताव निर्माण समितिअन्तर्गत प्रश्नावली बनाउन गठीत उपसमितिले विपक्षी दलका एजेण्डालाई पनि समेट्ने गरि प्रश्नहरु तयार गरेको छ ।

उपसमतिका संयोजक अग्नी खरेलले समितिले प्रश्नहरु तयार पार्दा अहिले समिति भन्दा बाहिर रहेको दलहरुका विषयमा पनि विशेष ख्याल गरेको बताए ।

एमाओवादी  र मधेशवादीले जबरजस्ती संविधानसभाको प्रक्रिया अघि बढाएको भन्दै समितिमा बस्न अस्वीकार गरेका थिए ।

समितिले शुक्रबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका प्रतिवेदन, संविधानसभामा सभासदहरुले राखेका धारणा लगायतलाई आधारमा मानि प्रश्न तथा उपप्रश्नहरु निर्माण गरिएको उपसमिति संयोजक खरेलले जानकारी दिए ।

सभासद खरेलले समितिले तयार पारेको पारेको प्रस्ताव समितिका सबै सदस्यलाई जानकारी तथा अध्ययन पछि शनिबारको बैठकमा थप छलफल हुने बताए ।

सभासद खरेलले समितिले यहि गतिमा काम गरे आगामी २९ गते बोलाईएको संविधानसभा बैठकमा प्रश्नावलि सहितको प्रतिवेदन पेश गर्न सकिने जनाकारी दिए ।

यसअघि संविधानको विवादित विषयमा प्रश्नाली तयार गर्न गठीत समितिले आफुलाई जिम्मेवारी दिएको काम नसकिएको भन्दै ५ दिन समय थप गर्न प्रस्ताव गरेपछि संविधानसभाको बिहिबारको बैठकले म्याद थप्ने निर्णय गरेको हो ।

उपसमितिले मंगलबार ३ वटा विषयमा मात्र प्रश्नहरु तयार गरेको थियो । बुधबारसम्म म्याद रहेको मौलिक हक, प्रस्तावना र संसोधनको विषयमा मात्र प्रश्नहरुमाथि छलफल गरेको थियो । यी तीन विषय बाहेक उपसमितिले संवैधानिक निकाय, न्याय प्रणाली, शासकीय स्वरुप, व्यवस्थापिका स्वरुप र राज्य पुनःसंरचना शीर्षकमा प्रश्नहरु बनाउनेछ ।

प्रश्नहरुलाई समितिमा छलफलपछि संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । संविधानसभाको बैठकमा विवादित विषयमा तयार पारिएको प्रश्नहरुलाई बहुमतको आधारमा टुङ्गो लगाइनेछ ।

यद्यपी सत्तापक्षले जबरजस्ती रुपमा प्रक्रिया अघि बढाएको भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले समितिको बैठक बहिष्कार गरेका छन् । उनीहरुले संविधानसभाको बैठकमा पनि भाग नलिने निर्णय गरेका छन् । यस्तै राप्रपा नेपालले पनि आफ्ना मुद्दामा प्रश्नावली नबनाएको भन्दै समितिको बैठक बहिष्कार गरिसकेको छ ।


  •  
  •  
  •