५ दिन म्याद थप्न प्रश्नावली समितिको प्रस्ताव

115
  •  
  •  
  •  

काठमाडौं, २१ माघ (ओएनएस) : संविधानको विवादित विषयमा प्रश्नाली तयार गर्न गठीत प्रश्नावली निर्माण समितिले आफुलाई जिम्मेवारी दिएको काम नसकिएको भन्दै ५ दिन समय थप गर्न प्रस्ताव गर्ने भएको छ ।

बुधबारसम्म म्याद रहेको समितिले निर्धारित मितिमा विवादित विषयमा प्रश्नहरु तयार गर्न नसक्ने भएपछि म्याद थप्नको लागि प्रस्ताव गर्ने निर्णय गरेको हो । विवादित विषयमा प्रश्नहरु तयार गर्न अग्नी खरेलको संयोजकत्वमा गठीत ९ सदस्यीय उपसमितिले मंगलबार ३ वटा विषयमा मात्र प्रश्नहरु तयार गरेको छ । समितिले सात विषयमा एक सय प्रश्नहरु बनाउने तयारी गरेको थियो ।

बुधबार मौलिक हक, प्रस्तावना र संसोधनको विषयमा मात्र प्रश्नहरुमागि छलफल भएको छ । यी तीन विषय बाहेक उपसमितिले संवैधानिक निकाय, न्याय प्रणाली, शासकीय स्वरुप, व्यवस्थापिका स्वरुप र राज्य पुनःसंरचना शीर्षकमा प्रश्नहरु बनाउनेछ ।

प्रश्नहरुलाई समितिमा छलफलपछि संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । संविधानसभाको बैठकमा विवादित विषयमा तयार पारिएको प्रश्नहरुलाई बहुमतको आधारमा टुङ्गो लगाइनेछ ।

यद्यपी सत्तापक्षले जबरजस्ती रुपमा प्रक्रिया अघि बढाएको भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले समितिको बैठक बहिष्कार गरेका छन् । उनीहरुले संविधानसभाको बैठकमा पनि भाग नलिने निर्णय गरेका छन् ।

यस्तै राप्रपा नेपालले पनि आफ्ना मुद्दामा प्रश्नावली नबनाएको भन्दै समितिको बैठक बहिष्कार गरिसकेको छ ।


  •  
  •  
  •