प्रश्नहरु

154
  •  
  •  
  •  

यो धर्तिमा जब तिमी र म मात्र थियौँ
न यहाँ कोहि मालिक नै थियो
न यहाँ कोहि दास नै थियो
मात्र तिमी र म थियौँ

रुपा थापा

जसरी तिमी हाँस्थ्यौँ बेपर्वाहसँग
म पनि त्यसैँ गरी हाँस्थे
तर तिम्रो ओठको हाँसोलाई कैले रोकिएन
तर मेरो हाँसोलाई भने

मेरो चरित्रसँग जोडियो र मैले हाँस्न छाडिदिए
तिमी जति खेर पनि हिँड्न स्वतन्त्र थियौँ
तर मैले चाल्ने मेरा प्रत्येक पाइलाहरुसँग
जवाफ माग्न थालेपछि

मैले आफ्ना पाइलाहरु चाल्न छाडिदिए
तिमीलाई लाग्यो एउटा काठको पुतली
जो केवल तिम्रै इशारामा चल्ने छे
तिमीलाई खुसी बनाउनकै लागि

तिमीले बनाएको साम्राज्यमा
आफ्नो सिङ्गो अस्तित्वलाई एउटा चिह्यानमा गाडेर
फेरि पनि तिमीसँग सहयात्रा गर्ने छे
तर जब जब म तिमीसँग प्रश्नहरु गर्छुु

तिमी किन त्यहि हाड मासु र छालाले बनेको
मेरो शारिरलाई सेतो कपडासँग तुलना गर्छौ
र भन्ने गर्छौ दाग लाग्ला है
तिमीले पढ्ने किताबका ति अक्षरहरुले

किन मेटाउन सकेन
तिम्रा मष्तिष्कमा जमेका ति धुलाहरुलाई
जो म भित्र रहेको
तिम्रो जस्तै मष्तिष्कलाई देख्दैन र

म भित्र केवल एउटा आइमाइको शरिरलाई देख्छ
हो अब यहाँ प्रत्येक आइमाइका शरिरहरु बोल्नेछन्
तिमीले नै बनाएको तिम्रो साम्राज्यमा
तिमीलाइ युद्धको लागि चुनौति दिनेछन्

नसोच अब यति सजिलै
एउटा योनि र स्तन बोकेका यी आइमाइहरु
तिमीसंग डराएर यो युुद्धको मैदानलाई छाड्नेछन्
तिम्रो साम्राज्यलाई खोस्नु छैन मलाई

तर किन डग्मगाउँछन्
तिमीले नै बनाएको तिम्रो त्यो साम्राज्य
जब जब एउटा आइमाइले आइमाइ बनेर होइन
म बनेर तिमीसँग यो धर्तिमा हुनुको कारण खोज्छे

हो अब यहाँ भालेका
ठूला ठूला डाकोहरुसँग डराएर
पोथिहरुले मैदान कदापी छाड्ने छैनन्
जुन पोथिहरुले जोगाइरहे ति मसिना चल्लाहरुलाई

आफ्ना पखेटाहरुले छोपेर
बाजको त्यो तेजिलो नजरबाट
बिस्तारै बिस्तारै मसिना ति नरम प्वाखहरु
जब बलियो पखेटा बने र सिउरहरु पलाएर

एउटा बलियो भालेमा रुपान्तरणमा भए
त्यहि भालेका सभाहरुमा डाँको छाडेर
एक अर्कासँग भिड्दै गरेका ति भालेहरु
आज कसरी भन्न सक्छन्

पोथिहरुको पखेटा उडान भर्नको लागि
बनेका थिएनन् भनेर
हो अब यहा एउटा उडान
ति पोथिहरुका पखेटाले पनि भर्नेछन्

र अब एउटा आइमाइ बनेर होइन
म बनेर तिमीसँग प्रश्नहरु गर्ने छन्

‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’१११ औं श्रमिक महिला दिवस ८ मार्च को पावन अवसरमा सम्पुर्णमा शुभकामना ।


  •  
  •  
  •