तिमी आकाश, अनि म धर्ती…

317
  •  
  •  
  •  

हो, तिमी आकाश
अनि म, धर्ती…..
तिम्रा थुप्रै गुणहरु
के तिर्न सकुँला र म ?
कैले घाम पठाएर
न्यानो दियौँ।
त कैले बादल फिँजाएर
शितलता !
कैले झरी वर्षाएर
पखाली दियौँ मेरा सारा दु:ख
हावाको भेष बदलेर
चाख्यौ मेरो यौवन र वैश
चलायौ सृष्‍टि पनि।

घाम, बादल, झरी, हावा…
कति बलिया तिम्रा शक्ति र अस्त्रहरु
तिमी सँधै माथि
तिम्रो भन्दा ठूलो
हैसियत पनि नहोस् मेरो
किनकी, तिमीलाई सम्मान गर्नुछ मलाई
तिम्रा नियन्त्रणका थुप्रै पासोहरुमा
अल्झिरहे म।
तिम्रो घामको न्यानोसँगै
मैले थुप्रै खडेरीहरु भोगेको छु।
तिम्रो हावाले भताभुङ्ग
पारिदिएका
मेरा इच्छा र रहरका
एकीकृत वस्तीहरु
उडेर कहाँ कहाँ छरपस्टिए।
बादलले फाट्न विर्सिंदा
खुल्न चाहँदा पनि धुम्मिएँ म
त्यही बादलका वेपर्वाह चट्याङहरु…
छातीमै बज्रिए कति !
भारी वर्षाले त मेरो
अस्तित्व नै डुवाइदियो
हो, तिमी आकाश
अनि म, धर्ति

कृपया….
मलाई ठिक्‍क घाम, बादल,
वर्षा र हावा देऊ न
यि सबैको संयोजनमा
तिम्रो योगदान
म प्रति सन्तुलित रहोस्।

धर्ती टेक्नकै लागि हो…
कुनै गुनासो छैन मलाई
टेक्नेले पनि गर्व गर्छन्
मनमा धर्म हुनेले।
धर्तिले पनि त गर्व गर्दो हो
आफु टेकिनुमा।।
आकाश भएर नहेर्नु तिमी
टुलुटुलु रमिता मात्रै
कैलेकाई धर्तीमै ओर्लेर पनि हेर,
कति बाधा, व्यवधान र व्यवहार…
झेल्नुछ धर्तीले।
वस् मेरा पनि
योगदानहरुको कदर गरिदेऊ न
हो, तिमी आकाश
अनि म,धर्ती।


  •  
  •  
  •