काठमाडौँ—१ : प्रकाशमानका चार चुनौती

531
  •  
  •  
  •  

काठमाडौँ, १३ मंसिर (ओएनएस) : पार्टीभित्रका निर्वाचनदेखि आमनिर्वाचनमा समेत कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको छोरा हुनुको फाइदा उठाउँदै आएका प्रकाशमान सिंह यसपटक कहिल्यै नबेहोरेको संकटको सामना गर्दै छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सहज जित हात पारेका उनी यसपटक चौतर्फी चुनौतीको बीचमा छन् ।

बाम गठबन्धन
यसअघि जस्तो बाम शक्तिहरु अलगअलत निर्वाचन लड्दाको सहज फाइदा हात पार्ने स्थिति कांग्रेसका प्रायः उम्मेदवारलाई छैन । प्रकाशमानका निम्ति पनि दुई प्रमुख बाम शक्ति नेकपा एमाले र माओवादी केन्द्र एक ठाउँमा उभिँदा परिस्थिति कठोर बनेको छ । ०७० को संविधानसभा निर्वाचनमा ५२ प्रतिशत मत प्राप्त गरेका सिंह विरुद्ध यतिखेर दोस्रो र तेस्रो स्थानमा रहेका दुई प्रमुख शक्ति उनीविरुद्ध मोर्चाबन्दी गरिरहेका छन् र बाम गठबन्धनबाट माओवादीका युवा नेता अनिल शर्मा उम्मेदवार छन् । उनको चुनावी अभियानमा लोडसेडिङ अन्त्य गरी चर्चामा आएका माओवादी नेता जनाद्र्धन शर्मा आफै खटिरहेका छन् । र, आफूहरुले केही सकारात्मक सुरुवात मात्र गरेको, त्यसलाई पूर्णता दिन युवा पुस्तालाई जिताउनुपर्ने भन्दै अनिलको पक्षमा माग माग्दै हिँडिरहेका छन् ।

एमालेले आफ्नै उम्मेदवार नउठाएकाले माओवादी उम्मेदवारलाई एमालेको भोट जाँदैन कि भन्ने आशंका नभएको होइन । तर, कम्युनिस्टहरुको भोट धेरै नबरालिने र प्रतिबद्ध प्रकारको हुने भएकाले एमालेको सबैजसो भोट माओवादीलाई खस्ने अनुमान गरिएको छ । कदाचित एमालेको भोट बटारिएछ भने पनि त्यो कांग्रेसमा खस्ने सम्भावना कम छ । बरु एमाले परिवारका युवा मतदाता विकल्प छान्नुपर्दा साझा विवेकशीलतिर आकर्षित हुने सम्भावना बढी देखिएको छ । तसर्थ, बाम गठबन्धनबाट प्रकाशमानलाई लोक्सानबाहेक अरु केही देखिँदैन ।

आक्रामक विवेकशील साझा
विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रको चुनावी प्रचार शैलीले आधुनिक युवा पुस्ता आकर्षित भएको छ । कांग्रेस, एमाले लगायतका परम्परागत शक्तिहरुबाट विरक्त भएको समुदायको भोट यस पार्टीले तान्न सक्नेछ । बाबुआमा कांग्रेस भए पनि छोराछोरी, बुहारीहरु तराजुतिर ढल्किने सम्भावना बढी छ । क्षेत्र नं. १ काठमाडौँका सुकिला मुकिला, सरकारी जागिरे, कानुन व्यवसायी, प्राध्यापक आदिको केन्द्र मानिन्छ । यहाँका उल्लेख्य मतदाता बरु पञ्चायतै ठीक थियो भन्दै गुणगान गाउने, पञ्चायतको मानो, बिर्ता आदिबाट लाभान्वित छ । विगतमा यो समुदाय कम्युनिस्ट हुन नसकेर रुख वा हलोमा भोट हाल्थ्यो । ०७० को निर्वाचनमा यसले गाईलाई मत दियो । यसपाली रवीन्द्र मिश्रले यो भोट तान्ने सम्भावना देखिएको छ । मिश्र परिवार राजतन्त्र र पञ्चायतप्रति झुकाव भएको, ०६२ को लोकतान्त्रिक आन्दोलन चलिरहेका बेला छद्म नामबाट मिश्रले राजतन्त्र पक्षधर लेख लेखेका कारण पनि पञ्चायतप्रति झुकाव राख्ने मतदाताले मिश्रलाई तथास्तु भन्न सक्नेछन् ।

हरिबोल भट्टराईको विद्रोह
पञ्चायत र कम्युनिस्टको पक्ष लिन नसक्ने तर कांग्रेसले पछिल्लो समय लिएको बाटोबाट विरक्तिएको समुदायको सहानुभूति हरिबोल भट्टराईप्रति देखिन्छ । गणेशमानकै धर्मपुत्र पीएल सिंह लगायतले थालेको कांग्रेस सुधार अभियान पक्षधरको समेत भट्टराईप्रति भरोसा गरिरहेका छन् । भट्टराईलाई कुनै बेला गणेशमानको लौरो भनिन्थ्यो र उनले गणेशमानको निकै खातिरदारी पनि गर्थे । गणेशमानकै प्रतिनिधिस्वरुप भट्टराईले काठमाडौँ महानगरको मेयर समेत भइसकेका उनी अहिले भन्दैछन्, ‘वीर्यले विरासत धान्दैन । विरासत धान्न विचार चाहिन्छ । प्रकाशमानसँग वीर्य छ, विचार छैन । मसँग गणेशमानको वीर्य छैन तर विचार छ ।’ कांग्रेसको करिब १५ सय देखि दुई हजारसम्म मत भट्टराईले काट्ने आकलन मतदाताबीच भइरहेको छ ।

प्रकाशमानको साख
कांग्रेसका प्रतिबद्ध कार्यकर्ताबाहेक प्रकाशमानलाई गणेशमान पुत्रका रुपमा सम्मान गर्ने र भोट दिने मतदाता यस क्षेत्रमा घट्दै गएका छन् । पटकपटक मन्त्री भए पनि आफ्नो निर्वाचन क्षेत्रतिर फर्केर नहेरेको भन्दै बुद्धनगरको क्वालिटी ब्यांक्वेटदेखि बानेश्वर हाइटमा भएका कार्यक्रममा प्रकाशमानले प्रत्यक्ष रुपमै आलोचना खेपिसकेका छन् । चुनावी प्रचारमा जाँदा मतदाताले सन्तोष बढी पोखेको अनुभव स्वय सिंहले गर्नु परिरहेको छ । कांग्रेसभित्रै पनि काठमाडौँमा गगन थापा पक्षधर कांग्रेसको जमात प्रकाशमानलाई प्रतिद्धन्द्धीका रुपमा हेर्छ । तसर्थ पनि प्रकाशमानका लागि यसपटकको निर्वाचन फलामको च्यूरा बन्ने देखिएको छ ।

स्थानीय तहको निर्वाचनलाई हेर्दा पनि यो क्षेत्र कांग्रेसको पक्षमा जनमत नभएको देखाउँछ । जुन यस प्रकार देखिन्छ—
विवेकशील साझा पार्टी ११,२००
एमाले र माओवादी १०,९८८
कांग्रेस र राप्रपा १०,३८२
नयाँ मतदाता करिब ६ हजार


  •  
  •  
  •