स्विस बैंकमा रहेको कालो धनबारे छानविन हुन्छ : मन्त्री सिंह

160
  •  
  •  
  •  

prakash man singh nccccc_20140715081416काठमाडौ, ४ फागुन । उपप्रधान तथा संघीय मामिला एवं स्थानीयविकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस आफूले विगतमा गरेको वाचाबाट पछि नहट्ने स्पष्ट पारेका छन् । उनले भने, ‘कांग्रेस विगतमा आफूले गरेको प्रतिबद्धता र सहमतिबाट पछि हट्दैन बरू बलिदानी गर्न तयार छ ।’

रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा शान्ति प्रक्रियालाई निष्कर्समा पुर्याउन काग्रेस जिम्मेवार र प्रतिबद्ध भएको बताए । उनले भने, ‘१२ बुँदे समझादारी, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार नै हामी अगाडि बढ्छौं, त्यसबाट काँग्रेस एक कदमपनि पछि हट्दैन, त्यसलाई कार्यान्वयन गर्न हामी जस्तोसुकै बलिदान दिन पनि तयार छौं ।’ मन्त्री सिंहले उक्त समझदारीहरुमा टेकेर सकेसम्म सहमतिकै आधारमा संविधानजारी गर्ने पक्षमा आफूहरू रहेको प्रष्ट पारे ।

मन्त्री सिंहले सहमतिको नाममा पहिलो संविधानसभा असफल बनाएपनि दोस्रो संविधानसभालाई कुनै पनि हालतमा असफल हुन नदिने स्पष्ट पार्दै आफ्नो एजेण्डा भन्ने एमाओवादीको संविधानसभा एजेण्डा हो कि होईन आशंका उत्पन्न भएको बताए । उनले भने, ‘हामी समझदारीबाट पछि हटेको होईन, अहिले आन्दोलनको कुरा गर्ने एमाओवादी १२ बुँदे समझदारी, अन्तरिम संविधान र शान्ति सम्झौताबाट पछि हट्न चाहेको छ ।’

तत्काल संबाद र सहमतिका साथ लोकतान्त्रिक संविधानको सुनिश्चितताको माग गर्दै क्लबका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै दोस्रो संविधानसभालाई शान्ति प्रक्रियाको अंगको रुपमा लिएकोले शान्तिप्रक्रिया टुङ्गयाउने जिम्मा पनि काँग्रेसकै भएको भन्दै त्यही जिम्मेवारी बोध गरेर अहिलेसम्म कसैले गर्न नसकेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानविन आयोग गठन गरेको बताए ।

उपलब्धि प्राप्त गर्ने बेलामा मिलेर लड्ने दलहरु उपलब्धिलाई संस्थागत गर्ने बेलामा एक आपसमा लड्नु विडम्बनापूर्ण भएको भन्दै मन्त्री सिंहले उपलब्धिको रक्षा गर्न लोकतान्त्रिक संविधानजारी गर्नै पर्ने भएकोले त्यसमा काँग्रेस पूर्ण प्रतिबद्ध रहेको बताए ।

उनले १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र विभिन्न समयमा भएका सहमतिमा काग्रेस प्रतिबद्धत रहेको कुरा बारम्बार देखाईरहन आवश्यक नरहेको तर्क गर्दै माओवादीले संविधानसभामा गरेको वितण्डा निन्दा योग्य भएको टिप्पणी गरे ।

मन्त्री सिंहले वार्ताको लागि प्रधानमन्त्रीले एक पटक लिखित रुपमा आग्रह गरिसकेकोले अब दोहोर्याएर आग्रह नगर्ने स्पष्ट पार्दै सडकबाट संविधान घोषणा गर्नुको अर्थ नभएकोले संविधानसभामा आएर आफ्नो एजेण्डाको लागि लड्न सुझाव दिए । उनले भने, ‘प्रधानमन्त्रीले प्रष्ट पारिसक्नुभएको छ, यहाँभन्दा बढि प्रष्ट पार्नुपर्ने आवश्यकता छैन, अर्को पत्र लेख्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न ।’

शान्तिप्रक्रियाको पालना काँग्रेसले ईमान्दारितापूर्वक गरिरहेको दावी गर्दै उनले एमाओवादी नै आफ्नो प्रतिबद्धताबाट भाग्न खोजीरहेको आशंका ब्यक्त गरे । उनले भने, ‘शान्ति प्रक्रियाको हस्ताक्षर गर्ने मध्ये एमाओवादी पनि एउटा महत्वपूर्ण हिस्सा भएकाले उसले सडकबाट संविधान जारी गर्छु भन्ने अभिव्यक्ति दिनुले एमाओवादी शान्ति प्रक्रियामा कत्तिको जिम्मेवारी छ भन्नेमा आशंका पैदा भएको छ ।’

उनले २०६२/६३ सालको जनआन्दोलनबाट प्राप्त भएका उपलब्धि गणतन्त्र, संघीयता, अन्तरिम संविधान, धर्मनिरपेक्षता र समावेशितामा आधारित भएर नै आफूहरू अघि बढ्ने बताए । यद्धपी मन्त्री सिंहले धर्म राज्यको नभई नागरिकको हुने भएकोले राज्यले धर्मनिरपेक्षता अपनाएर धर्म परिवर्तन विरुद्ध कडा कानून ल्याउने स्पष्ट पारे ।

पत्रकारहरुले स्विस बैंकमा नेपालीहरुले राखेको कालो धनको वारेमा सरकारले छानविन गर्छ कि गर्दैन भन्ने जिज्ञासामा उनले भ्रष्टाचारमा शून्य सहनशिलतामा सरकार अघि बढिरहेकोले स्विस बैंकमा भएको नेपालको पैसा समेत कानूनअनुसार फिर्ता ल्याउने प्रतिबद्धता ब्यक्त गरे । उनले भने, ‘यदि कसैले गैरकानुनी रूपमा कालो धन राखेको छ भने त्यसलाई नेपालको कानुन बमोजिम छानविन गरेर सार्वजनिक गर्न सरकार प्रतिबद्ध छ ।’


  •  
  •  
  •