कांग्रेसलाई भारतीय दलाल देखाउनेको बाढी : महामन्त्री सिंह

365
  •  
  •  
  •  

prakashman singh at dharanधरान, २१ कात्तिक(ओएनएस) : नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले भारतले गरेको अघोषित नाकाबन्दी र संयुक्त मधेसी मोर्चाले गरेको आन्दोलनका कारण देश लथालिङ्ग बनिरहेकोप्रति चिन्ता ब्यक्त गरेका छन् ।

शनिबार धरानमा अग्रज पत्रकार गिरिराज आचार्यद्वारा लिखित महानायक गणेशमान नामक पुस्तकको लोकार्पण गर्दै उनले मधेसको समस्यालाई काँग्रेसले नजिकबाट नियालेको र त्यहाँको समस्यालाई पनि काँग्रेसले समाधानका लागि सक्रिय नेतृत्व गर्ने बताएका छन् ।

गणेशमान सिंह फाउण्डेशन सुनसरीद्धारा आयोजित सो कार्यक्रममा महामन्त्री सिंहले संयुक्त मधेसी मोर्चाको नामबाट अहिले भइरहेको आन्दोलन र उत्पन्न समस्या मधेसी जनताले भोगिआएको समस्या समाधान गर्ने उद्देश्यले भन्दा पनि केही सामन्तवादी मधेसी नेताहरूले आफ्नो बर्चश्व स्थापित गराई राख्ने निहित स्वार्थले प्रेरित भएर गरिएकाले त्यसलाई मधेसमा बसोवास गर्ने सबै जनताले बुझ्न जरुरी रहेको पनि प्रष्ट पारे ।

उनले अहिले कांग्रेसलाई भारतीय दलाल देखाएर आफू राष्ट्रवादी बन्नेहरूको बाढी नै आएको भन्दै कांग्रेस भारतीय दलाल भएको भए नेपालमा संविधान नआउने समेत बताएका छन् । संविधान जारी गर्ने अन्तिम समयमा विभिन्न पक्षबाट दवावकाबीच कांग्रेसले लिएको अडानका कारण संविधान जारी भएको बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा लेखक गिरिराज आचार्यले महानायक गणेशमान सिंहले मुलुकका लागि गर्नु भएका योगदानका विषयमा धेरै पहिला नै पुस्तकको आकार तयार भई सकेको भए पनि यसलाई अहिले गणेशमान सिंहको सतवार्षिकी समारोह चलिरहेको बेला सार्वजनिक गर्ने जमर्को गरेको बताए ।

फाउण्डेशनका सुनसरी अध्यक्ष मदन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका १ नम्वर क्षेत्रीय सभापति चन्द्रप्रसाद श्रेष्ठलगायतले गणेशमानको योगदान बारे बोलेका थिए । त्यसअघि धरान १६ मा रहेको लौहपुरुष गणेशमान सिंहको प्रतिमामा माल्यार्पणसमेत गरिएको थियो ।


  •  
  •  
  •