मनमुटाव छाडेर एकढिक्का हुन नेता सिंहको निर्देशन

372
  •  
  •  
  •  

संखुवासभा, १५ वैशाख(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मनमुटाव छाडेर एकढिक्का हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

संखुवासभा क्षेत्रनम्बर २ ले आइतबार सदरमुकाम चैनपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सम्बोधन गर्दै नेता सिंहले भेदभावपूर्ण व्यवहारले नेता–कार्यकर्तामा ऊर्जा भर्न नसकिएको स्वीकार गरे ।

उनले अब पार्टीमा आन्तरिक एकता सुदृढ गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले संगठन मजबुत बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कांग्रेसले जनता र मुलुकको हितमा महत्वपूर्ण काम गर्दागर्दै पनि जनताले विश्वास गर्न नसक्नु कांग्रेस नेतृत्वप्रतिको अविश्वास हो भन्दै उनले यसलाई सुधार्दै अगाडि बढ्नुपर्ने बताए ।
पार्टीलाई विधिसम्मत तवरले चलाउनुपर्ने उनको जोड छ ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले जनता कांग्रेसको पक्षमा भएको दाबी गर्दै जनता कांग्रेस राम्रो होस् भन्ने चाहने बताए ।

उनले कांग्रेस विधिविधान सम्वत तवरले चल्न नसकेको बताए । वर्तमान सरकार स्वेच्छाचारी तवरले चलेकाले सडकदेखि सदनसम्म कांग्रेस सशक्त रुपमा प्रस्तुत हुनुपर्ने उनले बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले अब पनि कांग्रेसले आफूलाई सुधार गर्न नसके कांग्रेस अहिले भन्दा पनि झन् कमजोर हुने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं लगायतले धारणा राखेका थिए । नेता सिंह सहितको टोलीले आज संखुवासभा जिल्लामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशमानको टोलीमा आधा दर्जन पूर्वमन्त्री र आधा दर्जन जिल्ला सभापतिसमेत छन् । वैशाख १३ गतेदेखि पूर्वी नेपालको बिभिन्न जिल्ला दौडाहामा रहेका प्रकाशमान १७ गते काठमाडौं फर्कने कार्यक्रम छ ।


  •  
  •  
  •