‘प्रजातन्त्रमाथि हुने हस्तक्षेप कांग्रेसलाई सह्य हुँदैन’

537
  •  
  •  
  •  

काठमाडौं, १४ मंसिर(ओएनएस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोशिस भइरहेको भन्दै प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताएका छन् ।

इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा शुक्रबार आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उनले कांग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कांग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको बताए ।

सभापति देउवाले प्रजातान्त्रिक समाजवाद र समावेशीतालाई अंगीकार गरेको नयाँ संविधानले प्रजातान्त्रिक मौलिक अधिकारको सुनिश्चितताका साथै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको बताए ।

उपसभापति विमलेन्द्र निधिले प्रजातन्त्र र मानवअधिकारका लागि दशकौँ लामो संघर्र्षपछि कांग्रेसकै नेतृत्वमा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पाएको बताए ।

महामन्त्री डा.शशांक कोइरालाले अहिलेको सरकारले निर्वाचनमा वाचा गरेअनुसार जनतालाई सेवा प्रवाह गर्न नसकेको बताए ।

सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारको नौमहिने अवधि जनताका काममा भन्दा आश्वासन र नारा बाँड्नमा मात्र सीमित रहेको बताए ।

तरुण दलका पूर्वअध्यक्ष तथा पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणा, इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथका उपाध्यक्ष जस्टिन गलने, महासचिव अना पिर्तसाल्भा, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले प्रजातन्त्र स्थापना र संस्थागत गर्न युवाले खेलेको भूमिकामाथि प्रकाश पारेका थिए ।

 


  •  
  •  
  •