पार्टीमा अन्तरघात गर्नेलाई कारवाही हुन्छ : सभापति देउवा

288
  •  
  •  
  •  

रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रविरुद्ध लाग्ने कसैलाई पनि छोड्न नसकिने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीको भैरहवामा शुरु भएको दुई दिने महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै सभापति देउवाले राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्ध कांग्रेसले संघर्ष गरेको र ओली सरकारले पनि प्रजातन्त्र विरुद्ध काम गरे नछाड्ने चेतावनी दिए ।

उनले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्नुका साथै मिडियालाई पनि नियन्त्रण गर्न खोजेको आरोप लगाए ।

‘मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्छ, तर सरकारले आयोगको अधिकार खोस्न खोजेको छ, सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अगाडी बढ्न खोजेको छ मिडिया विधेयक काउन्सील प्रजातन्त्र विरुद्धको हस्तक्षेप हो’ सभापति देउवाले भने ।

देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कारवाही गरिने समेत बताए ।  उनले पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाही नगर्ने हो भने पार्टीले कहिल्यै जित्न नसक्ने बताए ।

पार्टीलाई मर्यादित र अनुशासित ढंगबाट सञ्चालन गर्न निर्वाचनमा अन्तरघात गर्ने जोसुकैलाई पनि पार्टीले कारवाही गर्छ सभापतिले भने भाषण गरेर चुनाव जित्न नसकिने भएकोले काम गरेर देखाउन नेता कार्यकर्तालाई उनले आग्रह गरे । पार्टी एकता आवश्यकता रहेकोमा जोड दिदैं देउवाले चुनाव जित्न पार्टी एकता बिना सम्भव नभएको बताए । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने चुनौती खडा भएको बताए ।

उनले कांग्रेसको सिद्धान्त सँधै विजयी भएको दावी गरे । पौडेलले दुईतिहाई बहुमतको सरकारले केही काम गर्न नसकेको आरोप लगाए । जनताले दुईतिहाई बहुमत दिएर पठाएको तर सरकारले दुईतिहाईलाई दुरुपयोग गरेको उनले बताए । सरकारले संविधानको मर्म माथि नै प्रहार गरेको उनले बताए । ‘सरकारको ढुकुटी कार्यकर्तालाई बाँडिएको छ,’ उनले भने ।

पार्टीका उपभापति तथा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले सरकारले लोकतन्त्र विरुद्ध काम गरिरहेको आरोप लगाए । उनले लोकतन्त्र रक्षा गर्ने जिम्मेवारी कांग्रेसको कांधमा आएको बताए ।

कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारले नेपाली कांग्रेस संगठित हुन आवश्यक रहेकोमा जोड दिए ।

उनले कांग्रेसका नेता कार्यकर्ता लोकतन्त्र तथा स्वतन्त्रताको लागि लड्दै आएको बताए । पार्टीका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले अब कार्यकर्तामाझ मात्र नरहेर कांग्रेस जनतामाझ पनि जानुपर्ने बताए । उनले जनमतकै आधारमा कांग्रेसले सरकारलाई सही दिशातर्फ लैजान सक्ने बताए ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले लोकतन्त्र रक्षाको लागि पार्टीले शान्तिपूर्ण संघर्ष गर्नुपर्ने बताए ।

उनले जनताको मौलिक हकको सम्बद्र्धन कांग्रेसले गर्नुपर्ने बताए । कांग्रेसका संसदीय दलका सचेतक पुष्पा भुसालले पार्टी एकढिक्का भएर अगाडी बढ्नुपर्ने बताइन् ।


  •  
  •  
  •