प्रजातन्त्र दिवस भव्य रुपमा मनाउने तयारी

49
  •  
  •  
  •  

काठमाडौं, २८ माघ(ओएनएस) : यस वर्ष ६९ औं प्रजातन्त्र दिवस फागुन ७ गते भव्यताका साथ मनाउने तयारी गरिएको छ ।


प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मूल समारोह समिति समेत गठन गरेको छ ।
त्यसैगरी समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

मूल समारोह समितिमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्यमा रहेका छन् ।

गृह सचिव प्रेमकुमार राईका अनुसार फागुन ७ गते सैनिक मंच टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछिन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहेने सो कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसै अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली गर्ने र विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा प्रजातन्त्र दिवस सम्बन्धि विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरिएको गृह सचिव राईले बताए ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढाउन सबैको सचेत अभियानको जरुरी रहेको समेत बताए ।


  •  
  •  
  •