संस्थाका लागि सहमति भए उम्मेदवारी फिर्ता गर्छु : प्रदीपजंग पाण्डे

244
  •  
  •  
  •  

एकता र समृद्धि, निजी क्षेत्रको आवश्यकता भन्ने नाराका साथ हामी आएका छौँ । हामीले एकता भन्नाले सबै क्षेत्रलाई समेट्न खोजेका छौ । उद्योगीदेखि मजदुरसम्म सबैलाई एउटा साझा आर्थिक विकासको एजेण्डामा सहमत गराएर अगाडि बढ्नुपर्छ भन्ने मेरो धारण छ ।
प्रदीपजंग पाण्डे अहिले उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फका उपाध्यक्ष छन् । आगामी २९ गते हुने महासंघको नयाँ नेतृत्व चयनको निर्वाचनमा उनले अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षमा अहिलेका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले पनि उम्मेदवारी दिएका छन् । दुवैबीच चर्को प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अध्यक्षका प्रत्याशी पाण्डेसँग ओएनएस न्यूजका लागि राजु केसीले उनको उम्मेदवारी बारे कुराकानी गरेका थिए ।
उद्योग वाणिज्य महासंघको अध्यक्षमा तपाईको दाबी किन ?
उद्योग वाणिज्य महासंघमा म डेढ दशक भन्दा लामो समयदेखि काम गरेको मान्छे हो । आफ्नो क्षेत्रमा एउटा सफलता हासिल गरेर उद्योगी व्यवसायीको हितका लागि धेरै नीति नियम बनाउन दबाव दिएर कार्यान्वयन गरी अघि बढी सकेको छु । अहिले धेरै जिल्ला उद्योग वाणिज्य संघले तपाई अगाडि बढ्नुपर्छ भनेका छन् । उहाँहरुको आग्रह र व्यवसायीहरु चाहना अनुसार मेरो उम्मेदवारी परेको हो ।
आर्थिक विकासका लागि तपाईको एजेण्डा के हो ? 
एकता र समृद्धि, निजी क्षेत्रको आवश्यकता भन्ने नाराका साथ हामी आएका छौँ । हामीले एकता भन्नाले सबै क्षेत्रलाई समेट्न खोजेका छौ । उद्योगीदेखि मजदुरसम्म सबैलाई एउटा साझा आर्थिक विकासको एजेण्डामा सहमत गराएर अगाडि बढ्नुपर्छ भन्ने मेरो धारण छ ।
तपाईहरु आ–आफै उम्मेदवारी घोषणा गर्नुभन्दा सहमतिमा अघि जान सक्नुहुन्न ?
राम्रो कुरा गर्नुभयो । सहमति अहिले पनि हुनसक्छ । तर सहमति मात्र भनेर भएन त्याग पनि गर्नसक्नुपर्यो । भए सहमति अरु भए हुँदैन भनेर सहमति हुँदैन । यदि सहमति हुन्छ भने म त्याग गर्न तयार छु ।
भनेको तपाईका प्रतिस्पर्धी भाष्करराज राजकर्णिकारको नाममा सहमति भए तपाई त्याग गर्न तयार हुनुहुन्छ ? 
होइन, होइन । यहाँ कुनै व्यक्तिका लागि त्याग गर्ने कुरा होइन । व्यक्तिका लागि होइन सहमति संस्थाका लागि हुनुपर्छ । संस्थाका लागि सहमति हुन्छ, राम्रो हुन्छ भने म छाड्न तयार छु ।
तर सहमतिको कुनै वातावरण नै देखिदैन त ?
हो यसमा सुरुबाटै वातावरण बिग्रिएको छ । पहिलेदेखिनै त्यस्तो प्रयास हुनुपर्थ्यो । यसअघि ६७ सालको अन्त्यमा चुनाव भयो । ०६८ सालबाट सहमति गरेर जाने वातावरण बनाएको भए त अहिलेसम्म भयसक्थ्यो । अब चुनाव हुन एक हप्ता पनि छैन अब यस्तो कुरा गरेर कसरी परिणाम आउँछ ?
सहमतिका लागि तपाईको विपक्षीमा उम्मेदवारी दिने प्रत्याशीलाई के भन्नुहुन्छ ?
यो प्रजातान्त्रिक अभ्यास हो । यसमा जो पनि प्रतिस्पर्धामा आउन पाउँछ । उहाँको योगदानको म पनि कदर गर्छु । उहाँलाई म शुभकामना पनि दिन चाहन्छु । तर सहमति गर्न सकिन्छ भने प्रयास गरौँ पनि भन्न चाहन्छु । भोलि चुनावबाट जो निर्वाचित भएपनि सबैलाई समेट्न सक्नुपर्छ भन्ने मेरो सोच छ ।
तपाईको पक्षमा परिणाम आउने सम्भावना कति छ ?
यसमा मेरो भन्नु केही छैन । यो सबै कुरा मत दिने मतदातामा निर्भर हुने कुरा हो । उहाँहरुको मतलाई हामीले सम्मान गर्नुपर्छ । मैले राम्रो भनेर राम्रो, नराम्रो भनेर नराम्रो हुने होइन । मतदाताले जे राम्रो देख्नुहुन्छ त्यहि गर्नुहुन्छ ।
तपाईहरु चुनाव लडेर सहमति नगरेर महासंघलाई कमजोर पार्नुभयो भन्नेहरु पनि छन् नि ?
मलाई त्यस्तो लाग्दैन । मैले अघि पनि भने व्यक्तिका लागि होइन संस्थाका लागि सहमति भए म त्याग गर्न तयार छु । अनि अर्को कुरा चुनाव भनेको प्रजातान्त्रिक प्रक्रिया हो यसले संस्थालाई कमजोर पार्दैन । यसबाट आउने परिणामलाई स्वीकार गरे संस्था बलियो हुन्छ ।
तपाई संस्थाका लागि सहमति भए छाड्छु भन्नुभएको छ तर बर्तमान अध्यक्ष सुरज वैद्य नै तपाईको पक्षमा हुनुहुन्न किन ? 
बर्तमान अध्यक्ष सुरजजी हामी कसैको पक्षमा हुनुहुन्छ भन्ने मलाई लाग्दैन । किनभने मेरो प्रतिस्पर्धी पनि बरिष्ठ उपाध्यक्ष म पनि उपाध्यक्ष हामी दुवै उहाँका लागि समान हुनुपर्ने हो । उहाँले विभेद गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । म उहाँलाई सम्मान गर्छु ।
तर उपाध्यक्षको कार्यकाल भरी तपाईले उहाँलाई निकै असहयोग गर्नुभयो नि ? 
मैले कुनै असहयोग गरेको छैन । यो झुट कुरा हो । म महासंघको हरेक बैठकमा सहभागी भएर निर्णय प्रक्रियामा गएको मान्छेले अध्यक्षलाई कसरी असहयोग गर्नसक्छु ?
महासंघको अध्यक्ष निर्वाचित हुनुभयो भने तपाईले देश विकासका लागि के योगदान गर्नुहुन्छ ?
म स्वदेशी लगानीलाई बढाउन प्रयास गर्छु । त्यसका लागि लोडसेडिङबाट मुक्तिका लागि प्रयास गर्ने, पूर्वाधार विकास गर्ने, पर्यटन विकासमा सहयोग गर्ने, व्यवसायिक कृषि, शिक्षा, स्वास्थ्य र मानवस्रोत विकासमा लगानीको वातावरण बनाउने । खासगरी युवा जनशक्तिको हितमा मेरो ध्यान हुनेछ ।
मेरो मान्यता के छ भने स्वदेशी लगानी बढे मात्र विदेशी लगानी आउँछ । पहिले आफ्नो घर बलियो बनाउनुपर्यो त्यसपछि बाहिरको लगानी आइहाल्छ नि । हामीले प्रारम्भिक काम गर्नुपर्छ ।

  •  
  •  
  •  

Comments are closed.