काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा ४/५ दिनमै पेश हुने दावी गरेका छन्।
शुक्रबार २३ औं मजदुर बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले समितिबाट टुंगो लागेर विधेयक ४/५ दिनमै सदनमा प्रस्तुत हुने बताएका हुन्।
प्रधानमन्त्री दाहालले विधेयक पास भएपछि सबै शहीदका परिवारले सरकारबाट पाउने सेवा सुविधा पाउने उल्लेख गरे । उनले शान्ति प्रक्रियाका केही कामहरू बाँकी रहेकाले सबै सहिद परिवारले परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताए।
प्रधानमन्त्री दाहालले विधेयक पास भएपछि सहिद र बेपत्ता योद्धाहरूले गरेको बलिदानप्रति गर्व हुने बताए। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले शहीदहरू कहिल्यै नमर्ने बताउँदै बेपत्ता योद्धाहरूहरू पनि साँच्चिकै बेपत्ता छन् भने तिनीहरू पनि अमर हुने बताए। प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंगिएपछि जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुने दावी गरे।