प्रदेशसभा बैठक : मलखाद अभावदेखि बुद्धमूर्तीसम्म सरकारको ध्यानाकर्षण

446
  •  
  •  
  •  

रुपन्देही । प्रदेश नं ५ को प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले मलखादको अभाव, बुद्धमूर्ती तोडफोडदेखि असारे विकासबारे ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले साउनको १६ गते बित्दा समेत किसानले मलखादको अभाव भोग्नु परेको बताउँदै मलखादको उचित प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य बीरबहादुर रानाले असारे विकासको प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग गरे ।

असारको अन्त्यमा आएर मात्रै तिब्र रुपमा विकास निर्माणका काम हुने गरेको भन्दै प्रदेशसभा सदस्य रानाले असार भित्रै सक्नुपर्ने काम साउनमा समेत हँुदै आएको बताए । वर्षातको समयमा सडक कालोपत्रे गर्नु प्राविधिक हिसावले समेत उपयुक्त नहुने भन्दै उनले सडक कालोपत्रे गर्ने कार्य जेठमै सक्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य विजय बहादुर यादवले किशानलाई मलखाद र विउ विजन समयमै उपलब्ध गराउन पटक÷पटक आवाज उठाए पनि प्रदेश सरकारले समस्या समाधानमा चासो नदिएको गुनासो गरे ।

प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य इन्द्र प्रसाद खरेलले गोदाममा मलखाद भएर पनि किसानले मलखाद नपाएको बताउदै किसानलाई तत्काल मलखाद बितरणको व्यवस्था मिलाउन माग गरे ।

प्रदेशसभा सदस्य दिनेश पन्थीले गुल्मीको सत्यवती गाउपालिकामा गएको बाढी पहिरो पिडितहरुको राहत,उद्धार र पुनस्र्थापनामा प्रदेश र संघीय सरकारबाट भएको प्रयास पर्याप्त नभएको भन्दै राहत र पुनस्र्थापना थप ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभाको बिहिबारको बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफ्नो मन्त्रालयले गत आर्थिक वर्षमा भए गरेका कार्यहरुको बारेमा प्रदेशसभालाई जानकारी गराएका थिए ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना तथा संचालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए ।

त्यसैगरी बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले पेश गरेको साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफका लागि प्रदेशसभाको अर्थ,उद्योग तथा पर्यटन समितिमा पठाउने निर्णय गरेको छ ।


  •  
  •  
  •