काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेका छन् ।
निलम्बन गरिएका सांसदहरुमा भीम आचार्य, ईन्द्र आङ्बो, जीवन घिमिरे, विजयकुमार विश्वास, सावित्राकुमार रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।
मुख्यमन्त्री शेरधन राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा निलम्बन गरेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । गएको सोमबार दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने १९ जना सांसदलाई दलको नेताको हैसियतमा राईको निर्देशनमा स्पष्टिकरण सोधिएको थियो ।
स्पष्टिकरण सोधिएकामध्ये १५ जनालाई तीन महिनाका लागि संसदबाट निलम्बन गरिएको हो। मुख्यमन्त्रीको निलम्बनको पत्रमा भनिएको छ, ‘ नेकपा संसदीय दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको छ । साथै संसदीय दलको सदस्य निलम्बन गरिएको व्यहोरा समेत जानकारी गराउँदछु ।’ यसअघि बिहीबार प्रचण्ड–माधव समूहले संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई चयन गरेको थियो ।
