काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दार्चुलाको महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको नेपाल र भारतका नापी अधिकारीले स्थलगत अध्ययन गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले अप्रिल १२ मा नेपाल र भारतका दुवै देशका नापी टोलीले त्यहाँ स्थलगत अध्ययन गर्ने तय भएको जानकारी गराएका हुन् ।ज्ञवालीले दार्चुलास्थित महाकाली नदीको नेपाल भारत सीमामा भारतले बनाउँदै गरेको सुरक्षा पर्खाल निर्माण गर्दा दुई देशको सीमालाई समेत छोएर या त्यसलाई मिचेर पर्खाल बनाएको भन्ने जानकारी संसद र सञ्चारमाध्यमा सार्वजनिक भएपछि सरकारले पुस २२ गते प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधि सहभागी एक टोली बनाएर स्थलगत अध्ययन गरेको जानकारी दिए ।
त्यो अध्ययनबाट भारतीय पक्षबाट निर्माण भइरहेको सुरक्षा पर्खालसम्बन्धमा स्पष्टरुपमा नापजाँच गरी वास्तविकता पत्ता लगाउन उपयुक्त हुने सुझाव दिएअनुरुप नेपालले भारतसँग गम्भीरतापूर्वक कुराकानी गरेको मन्त्री ज्ञवालीले बताए ।