भक्तपुर, १० असोज(ओएनएस) : नेकपा एमालेका पार्टी सचिव प्रदिप ज्ञवालीले संविधान जारी पश्चात भारतले गरेको अघोषित नाकाबन्दी अन्तराष्ट्रिय मापदण्ड विपरित भएको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले संविधान जारीपछि तराई आन्दोलनको बिषयलाई लिएर भारतले जसरी अघोषित नाकाबन्दी गरेको छ, त्यसको नेपालमा मात्र नभएर भारत लगायत विश्वभरी निन्दा भएकाले अब केहि दिनमै भारत पछि हट्ने बताएका छन् । सचिव ज्ञवालीले भारतले पारवहन मुद्दाको विषयलाई लिएर अन्तराष्ट्रिय मापदण्ड विपरित गएर गरेको कार्यलाई लिएर नेपाल अन्तराष्ट्रिय समुदायमा जाने बताएका छन् ।
उनले भने, ‘नेपालमा जारी भएको संविधान ९० प्रतिशतले पारित भएको र त्यो भन्दा कम प्रतिशतमा पास भएको संविधानलाई उत्कृष्ट भन्दै आफूलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्रबादी देश ठानेता पनि भारतले सदैव नेपाललाई स्वतन्त्र राष्ट्र मान्न सकेको देखिँदैन ।’ भारतीय योजना अनुसार नेपाल चल्नु पर्छ भन्दै आएता पनि संविधान जारी पश्चात त्यस्तो वातावरण पाउन नसक्दा र नेपाललाई सार्वभौमसत्ता सम्पन्न देश मान्न नसक्दाको परिणाम देखिएको उनले बताए ।
सचिव ज्ञवालीले नेपाल विश्वका दुई ठूला देशको छिमेकी भएको र संविधान जारी पश्चात आफ्नो असन्तुष्टि पोख्न दक्षिणतर्फबाट गरिएको अघोषित नाकाबन्दीलाई ध्यान दिँदै उत्तरतर्फको नाका खुलाउन सरकार लाग्नु पर्ने बताए । उनले भने, ‘दुवै छिमकी नेपालका लागि उत्तिकै महत्वपूर्ण भएकाले दुवै तर्फको सम्बन्ध विकासलाई ध्यान दिँदै उत्तरको नाका खोल्दै सहयोग गर्न चीन समेत इच्छुक रहेको छ ।
तराईमा आन्दोनलका नाममा विभिन्न खालका भ्रम छर्दै जसरी तराईबासीलाई पिडा दिने काम भएको छ त्यो सरासर गलत छ । सिमापारी गएर नाकाबन्द गराउने र उतैको भात खाएर तराई आन्दोलन चर्काउनेहरुले बेलैमा सोच्नु पर्छ ।’
सचिव ज्ञवालीले तराई आन्दोलन तराई र नेपालको हितका लागि नभएको बताए । उनले नेपालको कुटनीतिक पक्ष समेत असफल रहेको भन्दै संयुक्त राष्ट्रसंघले पहिला जारी गरेको विप्ज्ञती र हाल महासचिव मुनले जारीको विप्ज्ञतीले समेत स्पष्ट पारेको छ । कुटनिति पक्षको प्रभावकारी भूमिका नेपालले खेल्न नसक्दा विश्व समुदायमा समेत विभिन्न किसिमका भ्रम रहेको र त्यो विस्तारै सकिँदै गएको उनले बताए ।
सचिव ज्ञवालीले नेपालमा संविधान जारी पश्चात राष्ट्रिय सरकारको विषय पहिले नै निर्णय भैसेकेको र अब तीन दलको सहमतिमा छिट्टै सरकार निमार्ण गर्ने र त्यसको नेतृत्व एमालेले गर्ने बताए ।