एजेन्सी । प्रहरीले एउटा विश्वविद्यालयभित्र जबरजस्ती छिरेर धरपकड गरेको भन्दै भारतको दिल्लीमा सयौँ विद्यार्थी र अभियानकर्मीहरूले रातभरि प्रदर्शन गरेका छन् ।
तीन छिमेकी देशबाट अवैध रूपमा आएका मुस्लिमबाहेक अन्य धार्मिक समुदायका आप्रवासीलाई आममाफी दिने विवादास्पद नागरिकता कानूनविरुद्ध आइतबार भएको विरोधप्रदर्शनको क्रममा प्रहरीले कारबाही गरेको थियो ।
प्रदर्शनकारीहरूले ढुंगाले हानेको तथा गाडीमा आगो लगाइदिएकाले बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ ।तर प्रहरीले कारबाही गरेको जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका विद्यार्थी एवं शिक्षक संगठनले आफूहरूले हिंसात्मक प्रदर्शन नगरेको दाबी गरेका छन् । सो क्रममा प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज गरिएको थियो।
बीबीसीका अनुसार विश्वविद्यालयका पदाधिकारीहरूले एक वक्तव्य जारी गर्दै अनुमतिविना नै प्रहरी क्याम्पसभित्र पसेको बताएका छन् ।
राजधानीका विभिन्न भागमा प्रहरी कारबाहीको विरोध गर्न थप प्रदर्शनकारीहरू भेला भइरहेका छन् ।
दिल्लीका विद्यार्थीसँग ऐक्यबद्धता जनाउन भारतका अन्य विश्वविद्यालयमा पनि विरोध कार्यक्रम आयोजना गरिएको छ ।
अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आएका मानिसलाई आकर्षित गर्ने नागरिकता विधेयक गत साता भारतका दुवै संसद्बाट पारित भएको थियो । त्यसलगत्तै पूर्वोत्तर भारतमा जारी प्रदर्शनमा एक साताभित्रै छ जनाको मृत्यु भइसकेको छ ।