प्रदेश– ५ को राजधानी दाङ प्रस्तावलगत्तै आन्दोलन

177
  •  
  •  
  •  

काठमाडौं । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्तावलगत्तै बुटवलमा आन्दोलन शुरु भएको छ।

बुटवलका नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । बुटवलमा सरकारी गाडीमा पनि तोडफोड भएको छ। प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले प्रदर्शन गर्दै बुटवलमा तीनवटा गाडीमा तोडफोड गरेका छन् ।

सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं को गाडी र लु १ झ ४४९ नं गाडीमा तोडफोड भएको छ।

रुपन्देही प्रहरीका अनुसार बुटवलको नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोक क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

यसैबीच प्रदेश ५ सरकारले शुक्रबारको संसद बैठकमा पेश गरेको राजधानी सार्ने प्रस्तावप्रति विरोध जनाउँदै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ।

उक्त प्रस्ताव संसदमा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले सडकमा उत्रिएर विरोध जनाएको पार्टी सभापति अब्दुल रज्जाकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले विगतमा रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै उनले नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीबाट राजधानी सार्ने प्रयासको विरुद्धमा सडक र सदन तताउने बताएका छन्।

कांग्रेसले राजधानी सार्ने प्रस्तावको विरुद्धमा एकजुट भएर प्रदर्शन गर्न र राजधानी सार्ने प्रयासलाई रोक्न रुपन्देही तथा छिमेकी जिल्लाका सर्वसाधारणहरुलाई अपील गरेको छ।


  •  
  •  
  •