काठमाडौं १८ माघ । प्रधानमन्त्री सुशील कोइराला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शुक्रबार लाजिम्पाट पुग्दा बाबुराम भट्टराई त्यहाँ उपस्थित थिए, तर एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अर्थपूर्ण अनुपस्थिती थियो । उनी आफैं अनुपस्थित भएका भने होइनन्, खबरै नगरिएपछि दाहाल निवास नगएका हुन् ।
यस्तै भएको थियो बिपक्षी सभासद्बाट संविधानसभा तोडफोड भएपछि एमाओवादीले गल्ती स्वीकार्ने र पार्टी धारणा सार्वजनिक गर्ने भनेर नयाँ बानेश्वरको एक रेष्टुरेन्टमा माघ ७ मा पत्रकार सम्मेलन गर्दा । त्यहाँ पनि उपाध्यक्ष श्रेष्ठलाई नबोलाइएको मात्रै होइन, पत्तो पाएर आफैं आउलान कि भन्ठानेर ‘औपचारिक कार्यक्रम होइन’ भन्दै उनलाई रोकिएको समेत थियो । पत्रकार सम्मेलनमा अध्यक्ष दाहाल र नेता भट्टराईदेखि प्रवक्ता दीनानाथ शर्मालगायतका नेता भने उपस्थित थिए । आफूलाई बाहिर राखिएपछि श्रेष्ठ रिसाउनु स्वभाविक थियो । असन्तुष्टी पोख्न थालेपछि फकाउन दाहाल भोलीपल्ट उनकै निवास हरिसिद्धि पुगे ।
एमाओवादी स्रोतहरुका अनुसार, अहिले दाहाल-भट्टराई निकटता निकै बढेको छ भने श्रेष्ठचाहिं किनारा लगाइएजस्तो अवस्थामा छन् । पछिल्ला दिनमा सीमित औपचारिक बैठकबाहेक अरु बेला श्रेष्ठ सहभागी हुँदैनन्/गराइदैनन् । प्रायः भट्टराईको सल्लाहमा दाहाल अगाडि बढिरहेका छन् । ‘सडक मोर्चा’ सशक्त बनाउने मुख्य योजनाकार यतिबेला भट्टराई हुन् भने त्यसको संयोजक दाहाल ।
माघ पहिलो साता संविधानसभामा भवनमा प्रमुख दलहरुबीच गम्भीर छलफल चलिरहेको थियो । संविधानका अन्तरवस्तुमा दलहरु सहमति नजिक थिए । दाहाल र भट्टराई अडानमा कायम थिए, उपाध्यक्ष श्रेष्ठले केही लचिलो बनेर भएपनि संविधान निर्माणबारे सहमति खोज्नुपर्ने धारणा राख्दै आएका थिए । त्यही बेला श्रेष्ठले सहमति जुटाउन समन्वय गरिरहेको समाचार सञ्चार माध्यममा आयो । श्रेष्ठ आफैंले त्यस्तो प्रचार गरेको दाहाल र भट्टराईले आशंका गरे ।
श्रेष्ठको भनाइप्रति असन्तुष्टी जनाउँदै दाहालले भने, ‘पार्टी अध्यक्ष म हुँ, सहमति भएको मलाई थाहा छैन । बाहिर क-कसले सहमति जुटाए रे भन्ने सुन्दैछु ।’ श्रेष्ठको फरक धारणाप्रति असन्तुष्ट भट्टराईले झोक्किदै थपे, ‘पार्टीभित्रैबाट षड्यन्त्र भइरहेको छ ।’
कांग्रेस-एमालेले अडान कडा गर्दै लगेपछि दाहाल र भट्टराईको एउटै धारणा बनेको थियो । उनीहरुको भनाइ थियो, ‘पहिचानसहितको संघीयता नभएसम्म सहमति हुन सक्दैन, यसमा सहमति भएन भने आन्दोलनमा जानुको बिकल्प छैन ।’ तर श्रेष्ठ संघीयतामा केही लेनदेन गरेरै भए पनि संविधान जारी गर्नुपर्ने पक्षमा देखिएका थिए । उनको धारणाप्रति दाहाल र भट्टराई दुवै सन्तुष्ट थिएनन् ।
यतिबेला दाहाल र भट्टराई ‘हार्डलाइनर’ -कडा) र श्रेष्ठ ‘सफ्टलाइनर’ -नरम) जस्ता देखिन्छन् । दुई नेता आन्दोलनको पक्षमा छन् भने श्रेष्ठ वार्ताबाट समस्या समाधान गर्ने पक्षमा छन् । बिपक्षी मोर्चाले गर्ने बन्दको आन्दोलनप्रति श्रेष्ठ सन्तुष्ट छैनन् ।
निकटताको सूत्र
अध्यक्ष दाहालले गत पुसमा नेता भट्टराईलाई नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेपछि उनीहरु नजिकिंदै गएका हुन् । दाहाल आफूले वैचारिक नेतृत्व लिएर भट्टराईलाई अध्यक्षको सांगठनिक जिम्मेवारी दिन तयार भएको पार्टी स्रोतहरुले उल्लेख गरेका छन् ।
‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र आफ्नै पार्टीको विचार संगठन विस्तारको अनुभवसमेतका आधारमा नेतृत्वसम्बन्धी समग्र अवधारणा खासगरी नेतृत्व हस्तान्तरण र उत्तराधिकारीको विकाससम्बन्धी प्रश्नहरुमा माक्र्सवाद, लेनिनवाद र माओवादकै विकास अनिवार्य भएको छ,’ दाहालले पुसको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । दाहालको उक्त प्रस्तावलाई उपाध्यक्ष श्रेष्ठले हतारको निश्कर्ष भनेर टिप्पणी गरेका थिए ।
गत बैशाखमा बिराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै भट्टराई बाहिरिएका थिए । त्यसपछि बसेको केन्द्रीय समिति बैठकले छानेका पोलिटब्युरो, स्थायी र पदाधिकारी कुनै पद नलिने भन्दै उनले उपाध्यक्ष पद त्यागेका थिए । त्यतिमात्र होइन, उनले गत फागुनबाट ‘नयाँ राजनीतिक शक्ति’को बहस थालेर दाहाललाई चुनौती दिएका थिए ।
‘सशस्त्र युद्ध सुरु हुने बेलादेखि हालसम्म एकले अर्कालाई बुझ्नेमा प्रचण्ड र म हौ, हाम्रो सम्बन्ध एकता, संघर्ष र रुपान्तरण हो,’ भट्टराइले दाहालसँगको सम्बन्धबारे टिप्पणी गरे ।
दाहालको मनसायचाहिं भट्टराईलाई अघि सारेर बिग्रेको पार्टी बनाउने भन्ने देखिन्छ । त्यसकारण उनले श्रेष्ठलाई थुम्थुम्याउँदै भट्टराईलाई साथ लिएर अघि बढ्न चाहेका हुन् । ‘अध्यक्ष पद त्यागेर भएपनि पार्टी बचाउने पक्षमा छु,’ दाहालले निकट नेताहरुसँग भन्ने गरेका छन् । ‘बाबुरामजीको फरक मतले पार्टीभित्र ठूलो फरक पार्छ, तर नारायणकाजीको फरक मतले त्यति असर पार्दैन,’ दाहालनिकट एक नेताले बताए ।
भट्टराईसँग चर्को संघर्ष पर्दा दाहालको श्रेष्ठसँग सुमधुर सम्बन्ध देखिने गर्छ । जब दाहाल र भट्टराईबीच एकता हुन्छ, त्यसबेला श्रेष्ठ बिच्कन्छन् । दुई नेता मिल्दा श्रेष्ठले आफूलाई पाखा लगाइएको महसुस गर्छन् । प्रायः त्यस्तो अवस्थामा उनले फरक मत दर्ज गर्ने गरेको एक नेताको भनाइ छ । पार्टीभित्र भट्टराईजस्तै श्रेष्ठको पूर्व एकता केन्द्र-मसाल समूहको गुट अस्तित्व अहिले पनि कायम छ । बेलाबेला उनले त्यो गुटको छुट्टै भेला पनि गर्छन् । भट्टराई र श्रेष्ठ धोबीघाट गठबन्धनका बेला बाहेक कहिल्यै निकट देखिएका छैनन् ।
संस्थापनको कार्यशैली र राष्ट्रियताको सवालमा श्रेष्ठले फरक मत राख्ने गरेका छन् । २०६५ पुसमा माओवादीसँग पार्टी एकता गरेका उनले त्यसयता नेतृत्वदायी पद पाउँदै आएका छन् । अहिले पनि उनी पार्टीको एकमात्र उपाध्यक्ष हुन् ।
बेलाबेला पार्टीले लिएको आधिकारिक लाइनभन्दा फरक मत राखेर श्रेष्ठ चर्चामा आउँछन् । नेता तथा कार्यकर्ताको भडकिलो जीवनशैलीप्रति उनले निरन्तर गरेको आलोचनालाई पार्टीले अन्ततः सुनेको थियो । त्यसपछि एउटा समिति बनाएर सुधार कार्यक्रम ल्याएपनि त्यो प्रभावकारी हुन सकेन । श्रेष्ठले भने फरक मत राखिरहेकै छन् अहिले पनि । कान्तिपुरबाट