‘बन्दुकको लडाईंमा म कहिल्यै हारिन, खुल्ला राजनीतिमा सफल हुन दिइएन’

146
  •  
  •  
  •  

मदन कोइराला
काठमाडौं, २३ असोज (ओएनएस) : ‘बन्दुकको लडाईंमा म कहिले हारिन । तर, खुल्ला राजनीतिमा आएपछि भने कहिले पनि मलाई सफल हुन दिइएन ।’ १३ असोजमा लाजिमपाटस्थित निवासमा बसेको वैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले यस्तो दुखेसो  पोख्दा उनलाई ढाडस दिनेको पनि कमी थिएन । सत्तासिन कांग्रेस एमाले विरुद्धको विपक्षी गठबन्धन तयार गर्न बसेको बैठकमा प्रचण्डको कुरा सुनेपछि साना दलका एक नेताले भने ‘तपाईको नाम पुष्पकमल र प्रचण्ड हो । कमलको फुल बनेर पशुपतिनाथको मन्दिरमा अर्पण भएर बागमतीमा विलिन भएर जाने कि प्रचण्ड भएर शासन गर्ने ? अब तपाईले निर्णय गर्नुपर्छ ।’ बैठकमा सहभागी ती नेताले यस्तो भनिरहँदा उनको मुहारमा एकाएक कान्ती छायो र भने, ‘म त प्रचण्ड बन्न चाहन्छु ।’

यसअघि पुष्पकमललाई शान्ति र सहनशीलतासँग मात्रै दाँजेका दाहालले मन्दिरमा चढाएर विलय हुने कमलजस्तो कल्पना सम्मपनि गरेका थिएनन् । तर, प्रचण्ड कसैलाई विश्वास गरिहाल्ने पक्षमा देखिएनन् । भने,‘मैले भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आएपछि सबैलाई विश्वास गरँे तर, सबैबाट धोकामात्र पाएँ ।’ प्रचण्डले यस्तो भन्दा राजनीतिक छलफलमा एकाएक चकमन्नता छायो । तर, प्रचण्डले भने बोल्न छोडेनन्, उनी भन्दै गए,‘ भुमिगत राजनीतिबाट खुल्ला राजनीतमा आएपछि सबैलाई विश्वास गर्नुपर्ने भयो । बन्दुकको लडाईमा सधैं विजय भएका हामी खुल्ला राजनीतिमा भने कहिले पनि सफल हुन सकेनौं । पहिलो संविधानसभाको निर्वाचनमा ठुलो दलको नाताले मेरै नेतृत्वमा सरकार गठन भयो । त्यो पनि अन्य दलको सहभागीतामा दुईतिहाई बहुमतको सरकार थियो । तर, विचमा कटवाल प्रकरणले यस्तो अवस्था सृजना गर्यो, मैले बाध्य भएर प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्यो ।’

प्रचण्डले कटुवाल प्रकरणको कुरा निकालेपछि अन्य दलले भने त्यो निर्णयमा अरुले नभई एमाओवादीले नै धोका दिएको बताएका थिए ।
सत्तारोहणलगत्तै प्रचण्डले ४० बर्षे नीति र योजना सहित आएको सार्वजनिक कार्यक्रममा बताएका प्रचण्डले ९ महिनामै सरकार छोड्नु पर्ला भन्ने कल्पना पनि गरेका थिएनन । ‘संविधानसभामा ठुलो दलभएसँगै पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी पनि मेरै काँधमा थियो, वैठकमा प्रचण्डले भने,‘पार्टी र सरकार एकैजनाले संचालन गर्नुपर्ने भएका कारण पनि सबैका कुरा सुन्नुपर्ने बाध्यता थियो ।’ आफ्नै पार्टीको दबाबका कारण तत्कालीन सेनापति रुक्मांगद कटवाललाई कारवाही गरेको आसय दाहालले व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीबाट राजीनामा दिएपनि संविधानसभामा ठुलो दल हुनुको नाताले प्रधानमन्त्री पुन आफैं हुने विश्लेषण गरेको समेत उनले सुनाए । तर, खुल्ला राजनीति आफूले भनेजस्तो सहज नभएको उनको आत्म विश्लेषण थियो ।
सुरुमा सबैबाट धोका पाएपछि अहिले भने कसैलाई पनि छिट्टै विश्वास गरि नहाल्ने प्रचण्डले सुनाएका थिए । ‘मैले मधेसी दल, आदीवासी जनजाति, मुस्लिमलगायतका सबै जातजाति र समुदायबाट धोका पाएको छु, दाहालको भनाई उद्धृत गर्दै वैठकका एक सहभागीले भने,‘त्यसैले अहिले त म बाहुनको (कांग्रेस–एमाले) मात्रै विश्वास गर्न थालेको छु ।’ प्रचण्डले बाहुन भनेर कांग्रेस–एमालेलाई संकेत गरेका थिए । वैठकमा दाहालले दिएको पीडा मिश्रित अभिव्यक्तिबाट समयको वेगलाई ठम्याउन नसकेकामा उनमा पश्चाताप देखिन्थ्यो ती सहभागिको विलेषण छ ।

प्रचण्डका कुरा सुनिसकेपछि बैठकमका सहभागी अन्य दलका नेताले आदिवासी, जनजाति, मधेसी, उत्पीडित, शोषित सबै नेपालीको नेता बन्न आग्रह गरे । जातीय पहिचानसहितको संघीयता जारी गर्ने अभियानको नेतृत्व गर्न पूर्ण साथ दिने विश्वास पनि दिलाए । धेरै अविश्वास गर्दा कही नपुगिने भन्दै अन्य दलका नेतहरुले दाहाललाई सम्झाएपछि मात्र दाहाल २२ दलीय गठबन्धन बनाउन राजी भएका थिए । कांग्रेस–एमाले करिब दुईतिहाइ बहुमतको सुविधाजनक स्थितिमा रहेकाले दाहालको अवरोधले अब लोकतान्त्रिक संविधान निर्माणलाई रोक्न सक्ने पनि देखिंदैन । त्यो बुझेका प्रचण्ड सरकार बाहिर रहेका साना ठूला दललाई साथमा लिएरु भएपनि संविधानलाई सकेसम्म प्रगतिशील बनाउन दबाब दिंदै कतिपय मुद्दामा फरकमत राखेर संविधान जारी गराउने पक्षमा छन् ।


  •  
  •  
  •  

Comments are closed.