केन्द्रीय सदस्य थप्न भट्टराईको बार्गेनिङ
काठमाडौं ६ जेठ ओएनएस : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराइबीच सोमबार मिलिसकेको भनिएको सहमति मंगलबार फेरि भाडिएको छ । सोमबार पदाधिकारी सहितको पाँच सदस्यीय केन्द्रीय कार्यालय बनाउने सहमति भए पनि भट्टराई पक्षका नेताहरूलाई केन्द्रीय समितिमा प्रचण्डले थप्न अस्वीकार गरेपछि भट्टराइ पक्ष विच्किएको छ ।
सोमबार अवेरसम्म प्रचण्ड निवास लाजिमपाटमा भएको छलफलमा कुरा मिल्ने नदेखिएपछि भट्टराईले मंगलबार बिहान नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर वोगटीसँग छलफल गरेका थिए । भट्टराई निवास सानेपामा लामो समयको भएको छलफलमा भट्टराईले सबैलाई समेटेर लैजानुपर्ने भन्दै आफु निकटका साथीहरूलाई केन्द्रीय समितिमा नल्याए आफु पनि उपाध्यक्षमा नबस्ने अडान राखेका छन् ।
भट्टराईसँगको छलफलपछि श्रेष्ठ र वोगटी थपछलफल गर्न प्रचण्ड निवास लाजिमपाटमा पुगेका थिए । बिहान प्रचण्ड वाहेकका तीन नेताबीच भएको छलफलले सबैलाई समटेर लैजाने निश्कर्ष निकाले पनि अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बढाउन अस्वीकार गरेको एक नेताले बताए ।
प्रचण्डले बिराटनगर राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको ९९ सदस्यीय समितिमा एक जनापनि थप्न नसक्ने बताएका छन् । ‘आफु निटकका नेताहरू छुट्ने देखिएपछि भट्टराईले आफुपनि पदमा बस्न अस्वीकार गरिरहेका छन’ प्रचण्ड निकटका एक नेताले भने, ‘प्रचण्ड केन्द्रीय समिति विस्तार गर्न नचाहो बाबुराम अरु साथीहरूलाई पनि समेट्नै पर्ने अडानमा रहेकाले कुरा मिल्न सकिरहेको छैन ।’
श्रेष्ठ र वोगटीले प्रचण्ड र भट्टराईलाई मिलाउन कोसिस गरिरहेको ति नेताले बताए । भट्टराई निकटका नेता देवेन्द्र पौडेलले प्रचण्डका कारण विवाद मिल्न कठिनाइ भइरहेको बताए । सोमबार साँझ प्रचण्ड र भट्टराई बीच भएको छुट्टै छलफलबाट विग्रीएको कुरा मंगलबारको प्रयत्नमा पनि मिल्न नसकेको उनले बताए । मिलिसकेको भनिएको विवाद बल्झिएपछि मंगलबार केन्द्रीय समितिको बैठक पनि अन्योलमा परेको छ । ३ बजे बोलाइएको बैठकका लागि अधिकांस केन्द्रीय सदस्यहरू पनि पार्टी कार्यालय काटेश्वर पुगिसकेका छन् ।