प्रचण्डको वानप्रस्थ र बाबुरामको गृहप्रवेश

187
  •  
  •  
  •  

भुवन क्षेत्री/काठमाडौं : आफ्नो ६० औँ जन्म दिवसका अवसरमा प्रचण्डले राजनीतिक जीवनको समीक्षा गरे । व्यक्तिगत अवस्थाको विश्लेषण गरे । मोहनविक्रम सिंहदेखि मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवसम्मको समालोचना गरे । आफ्ना वरिपरि भीड लाग्ने नेता, कार्यकर्ता, उद्योगी, व्यापारीहरुको दिन प्रतिदिन घट्दो उपस्थिति हेरे । सबै कुरा ओरालो लागेको छ । बुद्धनगरको गहिरो खाल्डोमा बस्दा बरु उँचो कद देखिन्थ्यो । अहिले पेरिसडाँडाको थुम्कोमा उभिँदा पनि फुच्चेजस्तो लाग्ने अवस्था छ, पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटीमा बस्दाको कद नागार्जुनको टुप्पोमा नभेटेजस्तै ।

हो, पछिल्ला एक–डेढ वर्षमा प्रचण्डको मनोदशामा धेरै परिवर्तन आएको देखिन्छ । पार्टी र पारिवारिक जीवनमा घटेका केही अप्रिय घटना, राष्ट्रिय राजनीतिमा खुम्चँदो स्थान अनि खस्कँदो साखका कारण पनि उनमा जीवनजगतलाई हेर्ने दृष्टिकोणमा बदलाव आएको हुनुपर्छ ।

यसबीचमा पारिवारिक रुपले पनि केही चोट आइलागे । छोरीको निधन भयो । छोरा प्रकाशले पनि अपेक्षित सुमार्ग समाएनन् । राजनीतिक सहयोद्धा, सुखदुःखका साथी पोष्टबहादुर बोगटीको निधनले घाउमा घाउ थप्यो । स्वास्थ्य त्यस्तै छ । पेट बढेको छ । डायबेटिज थपिएको छ । रत्तचापको पारो पनि उँभै लागेको देखाउँछ ।

पार्टीको जीवन झन् दयालाग्दो गरी क्षयीकरण भयो । हरेक निर्णय र अन्योलका बेला दर्शनको पेटारो फुकाउँदै उपाय सुझाउने गुरु मोहन वैद्य साथमा छैनन् । उनी एक्लैले साथ छाडेका भए २०७० मंसिरको निर्वाचनमा त्यति ठूलो विपत्ति आइलाग्ने थिएन । देशभरका सारा ऊर्जावान् पूर्वक्रान्तिकारीहरुलाई भड्काइदिए । अहिले बल्लतल्ल वैद्यलाई फकाउन सकिएलाजस्तो के भएको थियो, विप्लव बारुद र बन्दुकको जोहो गर्न लागेका छन् । बाबुराम भट्टराईभन्दा एक कदम अगाडि बढेर नारायणकाजी श्रेष्ठ विरोधमा लागेका छन् । प्रचण्डकै शब्दमा, यसो विचार गर्दै जाँदा मोहनविक्रम सिंहको भन्दा फरक हविगत होलाजस्तो छैन ।

प्रचण्डले यी पक्षतिर पनि गम्भीर आत्मसमीक्षा गरेकोको हुनुपर्छ कि द्वन्द्वकालमा निकै फापेका उर्बर नाराहरु अहिले सुन्दा आफैलाई अनौठा लाग्छन् । रस, छन्द, अलंकार, लय केही नमिलेजस्ता । कुनैकुनै त अर्थ न बर्थकै लाग्ने । मनमा राज्यको पुनःसंरचना आउँछ । घाँटीसम्म पुग्दा त्यो संघीयता बन्छ । मुखबाट निस्कँदा पहिचान निस्कन्छ । अरुका कानसम्म पुग्दा त्यो जातीयता भइदिन्छ । स्वरले साथ नदिएको हो कि शब्दले ? वाद्य नमिलेको हो कि धुन ? कुरै नबुझिने ।

आफू लोकलय गाउन खोज्दा बाबुराम फिल्मी भइदिन्छन् । लौ न त फिल्मी नै गाऊँ न त भन्यो, वैद्य र विप्लवहरु बुर्जुवाकरणको आरोप लगाउँछन् । क्रान्तिकारी धुन नारायणकाजी मन पराउँदैनन् । अहिले त लाग्छ, बाहुन, क्षेत्री, जनजातिहरुको एउटै राष्ट्रिय धुन कसरी बन्यो होला ? पृथ्वीनारायण शाहको युद्धशास्त्र बुझ्न खासै गाह्रो भएन तर उनको अर्थनीति, कूटनीति र सामाजिक पुनःसंरचनाको नीति बुझ्नै सकिएन । उनको विचारको विपठन गर्न बस्दा आज त्यही राष्ट्रिय धुन आएर कानमा बज्छ कर्कश स्वरमा । उनको एकात्मक राज्यसंरचनाको विनिर्माण गर्न खोज्दा उत्तर, दक्षिण र पश्चिमका आर्किटेक्टहरु हावी भइदिन्छनन् । यो अप्ठेरो कसरी फुकाउने ?

प्रचण्डलाई पक्कै लागेको छ, जातीयता नामको यस्तो बाघको घोडा चढियो, जहाँबाट ओर्लन पनि गाह्रो छ । चढिरहन झन् गाह्रो छ । हिजोका सब सहयात्रीले साथ छाडिसके । विजयकुमार गच्छदार, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सूर्य सेन ओलीजस्ता नयाँनयाँ साथी बनाएर भए पनि भीड बढाउन खोजे । तर, लोकले झन् धेरै घृणा र आलोचना गर्यो । यी सबका मुखमा भ्रष्टाचार ह्वास्स गनाउँछ । पञ्चायत र पश्चमगमन गनाउँछ । पद्मरत्न र गोपाल किराँतीहरु ओर्लिइस् भने खबरदार भन्छन् । कसका बोलीमा बोली मिलाइरहन सकिन्छ र ? कसका लवजसँग यी ओठ जोडिरहन सकिन्छ ? वरिपरि हेर्यो, कि त स्वार्थी, बदनाम, अन्यत्र भाग नपाएका असन्तुष्ट र कुण्ठाग्रस्तहरु मात्रै छन् ।

बाबुराम कि अध्यक्ष देऊ, नत्र नयाँ शक्ति खोल्छु भन्ने धमास दिन्छन् ।नारायणकाजी बाबुरामलाई दिए पख्लास् भन्दै छन् । वर्षमानलाई आजकाल अर्थमान भनेको सुनिन्छ । यसो अड्को पड्को चलाइदिने सुमार्गीहरुको सुर बेग्लै छ ।

मोहनविक्रमजस्तो कोठे नेता बनिरहने स्वभाव छैन । तर, पार्टीको आकार र हैसियतले मोहनविक्रमकै झल्को दिन थालिसक्यो । त्यसैले केही नयाँ त गर्नै पर्छ । पार्टी त बनाउनै पर्छ भन्ने सुर प्रचण्डमा चढेको छ । यस्तै संकट र चौतर्फी अलोकप्रियतामा पार्टी फसेका बेला गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई अघि लाएर रिब्रान्डिङ गरेका थिए । त्यो सूत्र अहिले प्रचण्ड अपनाउन खोज्दै छन् ।

बाबुरामका नाममा पार्टीलाई रिब्रान्डिङ गर्न सकियो भने केही समय पेरिसडाँडाको थुम्कोमा उभिँदा धराधराजत्रै नदेखिए पनि काठमाडौँ उपत्यकाको राजनीतिक आकाशमा अस्तित्वको खम्बा गाडिरहन सकिन्छ कि भन्ने उनलाई लागेको छ । धरहरा बनिरहने धोको त रुकमांगद कटवाल नामको छेस्कोले बिथोलिहाल्यो । अहिले केपी ओली नामका महाराजधिराज उनका चुनौती बनेर उभिएका छन् ।

फ्युजन प्रचण्डको प्रिय शब्द हो । फ्युजनको सिद्धान्त भनौँ या सिद्धान्तको फ्युजन । कुनै बेला यसले राम्रै काम गरेको थियो । पूर्वीय जीवन पद्धतिमा उमेर घर्किँदै जाँदा गृहस्थी त्यागेर वानप्रस्थ अँगाल्ने गरिन्छ । तत्काललाई वानप्रस्थको बाटो रोज्दा केही फरक पर्ने छैन । फेरि राजनीतिमा फर्किनुपर्यो भने कम्युनिस्ट सिद्धान्त छँदै छ । जनवादी केन्द्रीयता छँदै छ । आवश्यकताको सिद्धान्तले पनि धेरै निर्णय गर्न गराउन सकिन्छ । यी सबैको फ्युजनबाट नयाँ उपाय निकाल्न तम्सिएका छन्, प्रचण्ड ।

फेरि बाबुराम पनि त उनीभन्दा कान्छा होइननन्, जो गृहस्थका मधुमासमा धेरै भुल्न सकून् । त्यसैले तत्काललाई बाबुरामलाई गृहस्थी सुम्पेर वानप्रस्थ अँगाल्न खोज्नु प्रचण्डको बाध्यता बनेको छ । तर, यो वर्षकै माघ नआई आउँदो वर्षको माघको लागि गरिएको घोषणाको रापमा अहिलेदेखि नै बाबुराम रमाउन थाल्नुचाहिँ छोराको बिहे नगर्दै नातिको कन्दनी तयार गरेजस्तो हुन्छ कि ?


  •  
  •  
  •