एमाओवादी विवाद छताछूल्ल, प्रचण्ड-बाबुराम घोचपेच

434
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) :  पछिल्लो समय एमाओवादीमा देखिएको विवाद छताछूल्ल भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता बाबुराम भट्टराई   र प्रचण्डबीच आईतबार एउटै मञ्चमा घोचपेच भएपछि विवाद छताछूल्ल भएको हो ।

काठमाडौंको राष्ट्रिय नाचघरमा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भट्टराईले नेतृत्वको आलोचना गरेपछि प्रचण्डले कडा जवाफ फर्काए । भट्टराईले नेतृत्वको कार्यशैली परिवर्तन नभएको आरोप लगाएपछि प्रचण्डले पार्टीमा गुट राजनीति गरेको भन्दै जवाफ फर्काएका थिए ।

भट्टराईको सम्बोधनपछि आफ्नो धारणा राखेका प्रचण्डले कार्यनीति सबैको एउटै भएपनि गुटको राजनीति नछाडेको भन्दै भट्टराईप्रति कटाक्ष गरेका थिए । प्रचण्डले भने, ‘ सदन, सरकार र सडकबाट आन्दोलन गर्ने कार्यनीति एउटै छ । तर हामीले गुट बनाउँन छोडेका छैनौ । के यो एउटै विचार हो ? ‘

प्रचण्डले भन्नलाई एउटा कुरा भन्ने र गर्न अर्कै कुरा गरेको भन्दै आक्रोश पोखे । उनले प्रश्न गरे, ‘ गूटबन्दीको अन्त्य हुनुपर्छ भनिरहेका छौ । तर हामी गुटबन्दी गरिरहेका छौ । त्यसो भएपछि हाम्रो भनाई र गराई कहाँ मिल्यो ?’

भट्टराईले समानान्तर कमिटि बनाएको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले अघि भने, ‘ अब सामाजबादी पार्टी निर्माणको लागि नयाँ ढंगको पार्टी चाहिन्छ भनेका छौ । नयाँ पार्टी भनेको समानान्तर कमिटी बनाउने भनेको हो ?  के नयाँ ढंगको पार्टी भनेको गूटबन्दी गरिरहेने हो ? ‘

उनले पार्टी नेतृत्वलाई मात्र दोष दिएर पन्छन नमिल्ने भन्दै अघि थपे , ‘ माथि बसेको एउटालाई दोष दिएपछि अरु सबै  चोखिन सक्छ त ? अनि वरियता क्रममा दोस्रो नम्बरमा बसेकोले जिम्मा लिनुपर्‍यो । तेस्रोमा बसेकोले तेस्रोको लिनुपर्‍यो ।’

त्यसअघि बोलेका भट्टराईले पार्टीभित्रको कार्यशैली सुधार्नुपर्ने भन्दै नेतृत्वले महादेवले जसरी सतीदेवीको लास बोकेर हिडेको भन्दै ब्यङ्ग्य गरेका थिए । भट्टराईले भने- ‘त्यसरी हिँड्दा वैद्य झरे, विप्लव झरे, मात्रिका यादव झरे । यो तरिकाले हिँड्ने हो भने गुह्येश्वरी पीठजस्ता केही पीठहरु बनाउनबाहेक केही पनि गर्न सक्दैनौं ।’

उनले पार्टीलाई विचार, कार्यदिशा, नेतृत्व र कार्यशैलीका हिसाबले पुनगर्ठित गर्न सकिएन भने एमाओवादीको विनासलाई हुने समेत चेतावनी दिए ।


  •  
  •  
  •