‘गणतन्त्र गुम्ने खतरा छ’

223
  •  
  •  
  •  

काठमाडौं ६ जेठ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र राष्ट्रिय स्वाधीनता दुवै खतरामा रहेको औल्याउँदै यसलाई जोगाउन सरकार र आन्दोलनकारीको ध्यानाकर्षण गराएका छन् । गणतन्त्र, संघीयतालगायतका उपलब्धि गुम्ने र राष्ट्रिय स्वाधीनतामा आँच आउने खतराप्रति सतर्क रहेर वार्तामा आउन आन्दोलनरत पक्षलाई अपिल गर्दै दाहालले आन्दोलनरत मधेसी, आदिवासी जनजातिलगायतका दलसँग संवाद गरी समस्या समाधान गर्न पनि सरकारसँग माग गरेका छन् ।

राजधानीमा बिहीबार हुने माओवादी दलहरूको एकता अधिवेशनमा प्रस्तुत गर्न तयार पारेको प्रस्तावमा दाहालले राजनीतिक रूपले तीनवटा प्रवृत्तिका बीचमा अन्तरविरोध र संघर्ष चलिरहेको विश्लेषण गरी सरकार र आन्दोलनकारी दुवै पक्षको ध्यानाकर्षण गराएका हुन् । गणतन्त्र, संघीयता, धर्मनिरेक्षताजस्ता उपलब्धि उल्टाउन खोज्ने ‘प्रतिगामी राजनीतिक प्रवृत्ति’ लाई दाहालले पहिलो नम्बरमा राखेका छन् । ‘यसमा हिजोका सामन्ती प्रभुहरूदेखि घोर दक्षिणपन्थी वैदेशिक प्रतिक्रियावादी शक्ति सामेल छन्,’ दाहालको प्रस्तावमा लेखिएको छ ।

दाहालले कुनै दलको नाम उल्लेख नगरी यथास्थितिवादी शक्तिहरूलाई दोस्रो प्रवृत्तिका रूपमा विश्लेषण गरेका छन् । ‘जनयुद्ध र आन्दोलनको दबाबमा यो शक्तिले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी–समानुपातिक मान्यता स्वीकार गरे पनि त्यसले परिवर्तनको मर्मलाई बिल्कुल आत्मसात् गरेको छैन । अतः यो प्रवृत्ति र शक्तिको मुख्य ध्यान परिवर्तनकारी शक्तिलाई कमजोर पार्ने र परिवर्तनका मुद्दाहरूलाई कार्यान्वयनमा लैजाने प्रक्रियामा उदासीनता देखाउँदै निस्तेज पार्नेमा रहेको छ,’ प्रस्तावमा उल्लेख छ ।

दाहालले आफूहरूलाई परिवर्तनकारी शक्तिका रूपमा विश्लेषण गर्दै तेस्रो प्रवृत्तिमा राखेका छन् । उनले लेखेका छन्, ‘यो शक्तिले क्रान्ति र आन्दोलनको उपलब्धिका रूपमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी जनताको मौलिक अधिकारको स्वामित्व लिँदै एवं तिनको रक्षा र उपयोग गर्दै प्रतिक्रियावादी संसदीय व्यवस्थाविरुद्ध भण्डाफोर र संघर्षसहित निरन्तर क्रान्तिको तयारीमा जोड दिन्छ ।’
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •