राेल्पाबाट दाहालकाे सन्देश

146
  •  
  •  
  •  

काठमाडौं २६ कात्तिक ।
कांग्रेस र एमालेसँग असन्तुष्ट बन्दै अकस्मात जनयुद्धको आधारभूमी रोल्पा भ्रमणमा गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको ध्यान सिंहदरबारस्थित दलहरुको बैठकमा पनि त्यतिकै थियो । संवाद समितिको बैठक चलिरहदा मंगलबार उनले त्यहाँको प्रगति विवरण बुझ्न र आफ्ना धारणा सुनाउन बेला-बेला आफ्नै पार्टीका नेता एवं संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईसँग टेलिफोन सम्पर्कमै रहे ।

सत्तारुढ दलका नेताले बढीमा ७ प्रदेशमा अडान राखेपछि बिग्रदै गएको सहमतिलाई त्यसै छाडी उनी सोमबार पार्टीका अन्य नेताहरुसहित रोल्पा पुगेका छन् । सबै आ-आफ्नै अडानमा रहने हो भने बैठक बस्नुको अर्थ नहुने भन्दै उपत्यका बाहिर पुगेका दाहालले टेलिफोनबाट भएपनि ‘सार्थक संवाद भए भोलि (बुधवार) नै आइपुग्ने’ सन्देश बैठकमा पठाए । ‘चिया बसाई मात्र हो भने म आउँदिन,’ अन्य नेतालाई सुनाइदिन आग्रह गर्दै एमाओवादी अध्यक्ष दाहालले भट्टराईलाई भनेका थिए, ‘ठोस र सार्थक वार्तामा बस्ने भएमात्र बोलाउनुहोस् ।’

बैठक चलिरहदा आफ्ना अध्यक्षको टेलिफोन आएपछि भट्टराईले कक्षबाट बाहिर गई कुराकानी गरेका थिए । त्यसपछि दाहालको सन्देश भट्टराई आफैले बैठकमा सुनाएका थिए । समितिका केही सदस्यहरुले भने सर्त राखेर मात्र काठमाडौं र्फकन्छु वा फर्किन्न भन्ने तरिका गलत रहेको भनी टिप्पणी गरे ।

‘पहिले त बैठकमा आउनुपर्‍र्यो । आफू पनि लचिलो भई प्रस्तुत हुनुपर्‍र्यो,’ कांग्रेस नेता एवं समिति सदस्य अर्जुननरसिंह केसीले भट्टराईले दिएको जवाफ उल्लेख गर्दै भने, ‘यसरी बैठक छाडी जाने तरिका राम्रो भएन । फर्काउनुपर्‍र्यो ।’

संविधान निर्माण वा पार्टीभित्रकै विवादमा असहमति भई तनाव भएमा दाहालले अकस्मात काठमाडौं छाड्ने गरेका छन् । करिब एक महिना अघि पनि उनी संवाद समितिको पूर्वनिर्धारित बैठक छाडेर मुस्ताङ्ग भ्रमणमा गएका थिए । यसपटक भने कांग्रेस, एमालेबीच साझा धारणा बनेको, आफैले नेतृत्व गरेको राजनीतिक समितिको बैठकमा अन्य दलका शीर्ष नेता अनुपस्थित भएपछि दाहाल रोल्पा भ्रमणमा गएका हुन् ।

एक साता लामो पार्टी कार्यक्रम भनिएपनि दाहालले आवश्यक परे र्फकने जनाउ दिएका हुन् । संवादमा भट्टराईले अन्य दलका नेताले बैठकमा राखेका प्रसङ्ग राख्दै काठमाडौ र्फकन उचित हुने सुझाव दिएका थिए । दाहालले सार्थक वार्ता नहुने हो भने रोल्पाको कार्यक्रम सकी आफू धनगढीतिर जाने बताएका थिए । संवाद समितिको बैठकमा मंगलबार पनि सत्तारुढ नेताहरुले प्रक्रिया अघि बढाउनका लागि प्रतिवेदन तयार गर्न भट्टराईलाई सुझाव दिएका थिए । भट्टराईले भने प्रश्नोत्तरको प्रक्रियाका लागि पनि सबै दलको सहमति आवश्यक भएको जिकिर गरेका थिए ।
कान्तिपुरबट


  •  
  •  
  •