काठमाडौं २७ कात्तिक (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुबासचन्द्र नेम्वाङले पटक पटक फोन गरेर काठमाडौं फर्किन आग्रह गरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पाबाट आज फर्किने भएका छन् । उनी भैरवहाबाट साँझ ५ बजेको बिमानबाट काठमाडौं फर्किने छन् ।
त्यसअघि बिहान उनले रोल्पामा कार्यकर्तालाई सम्वोधन गर्नेछन् । दाहालले आज बिहान रोल्पाको माडिचौरमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । माडीचौर जंकोट, भाबाङ, लगायत त्यस आसपासका कार्यकर्ता, सहिद परिवार, घाईते अपांग एवम कार्यकर्ताहरुसंगको भेटघाटमा छन् ।
जंकोट माडीचौरको कार्यक्रमपछि सदरमुकाम लिबाङमा कार्यक्रम हुनेछ । त्यसपश्चात काठमाण्डौं फर्कने कार्यक्रम तय भएको एमाओवादी रोल्पाले पनि जानकारी दिएको छ ।
आइतबार रोल्पा आएका दाहाललाई प्रधानमन्त्री कोइरालाले तीन पटक फोन गरेर फर्किन आग्रह गरेका थिए ।
अध्यक्ष दाहाल एक दिनको कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेको सँगै रहेका महासचिव कृष्णबहादुर महराले बताए । हिजो राङ्सीको पोखरामा सभा सकाएर अध्यक्ष दाहाल अहिले सदरमुकाम लिवाङबाट नजिकै रहेको माडीचौरका स्थानीयसँग भेटघाट गरिहरेका छन् ।
संबिधानका विवादित बिषयमा दलहरुबीच तीब्र मतभेद देखिएपछि अध्यक्ष दाहाल रोल्पा आएका थिए । ।
आइतबार पत्नी सीता, महासचिव महरा, सचिव बर्षमान पुन र लडाकु कमाण्डरसहित रोल्पा आएका दाहाल युद्धकालमा आफूले हेडक्वार्टर बनाएको राङ्सी रापकोट डाँडास्थित रणबहादुर घर्ती मगरको घरमा पुगेका थिए ।