
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड र माधवकुमार नेपाल पक्षले आज काठमाडौंमा आमसभा गर्दैछ।
आमसभालाई पुष्पकलम दाहाल प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सो पक्षले जनाएको छ।सभामा उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेता–कार्यकता सहभागी हुने जनाइएको छ ।
उपत्यका विभिन्न स्थानबाट निकालिएको जुलुस दिउँसो १२ बजे भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ।
यस्तै टेकु र कीर्तिपुरबाट निस्कने जुलुसमा सीतापाइला, थानकोट, धादिङ र मकवानपुरबाट आउनेहरु सहभागी हुने छन्। यस्तै नयाँ बानेश्वरबाट आउने जुलुसमा भक्तपुर, काभ्रे, रामेछाप र दोलखाबाट आउने सहभागी हुने छन्।
मैतिदेवीबाट निस्कने जुलुसमा साँखुबाट आउने सहभागी हुने छन्। लैनचौर, बालाजुबाट निस्कने अर्को जुलुसमा बुढानीलकण्ठ, नुवाकोट, रसुवा, टोखा र नगरकोटलगायत क्षेत्रबाट आउनेहरु सहभागी हुने छन्।
यस्तै विद्यार्थी र युवा बागबजार, त्रिचन्द्र कलेजबाट जुलुस निकालेर भृकुटीमण्डप पुग्ने छन्। आमसभामा सहभागी हुन नेताहरु उपत्यकाका छिमेकी जिल्लामा परिचालन गरिएको जनाइएको छ।