भूमिका बढाउन नेपाललाई आग्रह

115
  •  
  •  
  •  

काटमाठौं ६ चैत ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई शान्ति र संविधान निर्माणप्रक्रियालाई सहमतिमा लैजानका लागि भूमिका बढाउन आग्रह गरेका छन्।   दाहालले १२ बुँदे समझदारीयताका घटनाक्रम स्मरण गराउँदै एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री सुशील कोइरालाको भूमिकाले मुलुकलाई गम्भीर दुर्घटनामा लैजान लागेको बताए। अध्यक्ष दाहाल र नेता नेपालबीच बिहीबार बानेश्वरमा दुई घन्टा लामो छलफल भएको थियो।

‘मुलुकलाई गम्भीर दुर्घटनाबाट बचाउन तपाईंले आफ्नो भूमिका बढाइदिनुपर्‍यो’, दाहालले नेता नेपालसँग गरेको आग्रह उद्धृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले अन्नपूर्णसँग भने।

उनका अनुसार अग्रगमन र परिवर्तनका एजेन्डालाई संस्थागत गराउन भूमिका बढाउन दाहालले गरेको आग्रहलाई नेता नेपालले स्वीकार गरेका छन्। ‘म पार्टीभित्र र बाहिर सहमति निर्माणका लागि भूमिका बढाउँछु’, नेता नेपालले भनेका थिए।

दाहालले १२ बुँदे समझदारी, जनआन्दोलन, शान्तिसम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र सेना समायोजनमा नेता नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै शान्ति र संविधान निर्माणका बाँकी कार्यभार पूरा गर्न भूमिका बढाउन आग्रह गरेका हुन्।

‘तपाईं र गिरिजाप्रसाद कोइरालाको व्यक्तित्वले विगतमा एकपछि अर्को सहमति हुँदै आएको थियो। अहिले गिरिजाप्रसाद हुनुहुन्न। तपाईं र मैले मुलुकलाई दुर्घटनामा जानबाट रोक्नुपर्‍यो’, दाहालले भनेका थिए।

दाहालले शासकीय स्वरूपमा आफूहरू फरक मतसहित अगाड जान तयार रहेको बताएका थिए। पहिचान र सामथ्र्यका आधारमा संघीय संरचना निर्माण गर्न सकिने, निर्वाचन र न्यायप्रणालीमा सहमति जुटाउन सकिनेबारेमा दुई नेताबीच छलफल भएको थियो।

सहमतिका लागि विश्वासिलो वातावरण बनाउन छलफल सकारात्मक रहेको निष्कर्षमा दुवै नेता पुगेका छन्। कसैलाई पेलेर जाने नीति नरहेको नेता नेपालले दाहाललाई प्रस्ट्याएका थिए।

नेपालले बुधबार एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए भने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि एमाले अध्यक्ष ओलीसँग बुधबार नै छलफल गरेका थिए।

कांग्रेस महामन्त्री कृष्ण सिटौलाले पनि अध्यक्ष दाहाललाई आन्दोलनको सट्टा सहमतिको दिशामा अगाडि बढ्न आग्रह गरेका थिए। छलफलका लागि सिटौला दाहाल निवास लाजिम्पाट पुगेका छन्। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •