प्रचण्ड र मोर्चा नेताबीच गोप्य वार्ता

209
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर ।
एकीकृत नेकपा माओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत मधेसी मोर्चाका प्रमुख नेताहरूसँग गोप्य वार्ता गरेका छन् । मंगलबार अपराह्न झन्डै तीन घन्टा लामो छलफलपछि प्याकेजमा समाधान खोज्ने सहमति बनेको छ । स्रोतका अनुसार बैठकमा प्रचण्डले देशको परिस्थिति झन्–झन् बिग्रँदै गएको बताउँदै लचिलो भइदिन मधेसी मोर्चाका नेताहरूलाई आग्रह गरेका थिए ।

‘समस्या बढ्दै गए जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनबाट प्राप्त उपलब्धि पनि गुम्ने खतरा बढेको छ,’ मोर्चासँगको छलफलमा प्रचण्डले राखेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता पनि खतरामा पर्नेतिर जाँदै छ ।’ प्रचण्डको भनाइपछि मोर्चाका नेताहरूले समस्या समाधानमा आफूहरू पनि गम्भीर रहेको बताएका थिए । मोर्चाका नेताहरूले समस्या समाधानका लागि कांग्रेस र एमाले लचिलो हुनुपर्ने बताएका थिए ।

‘तपाईं र तपाईंको पार्टी त त्यसै पनि लचिलो छ । पहिले एउटै मोर्चामा थियौँ,’ मोर्चाका नेताहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘दुई ठूला पार्टी कांग्रेस र एमाले गम्भीर पनि देखिँदैनन्, लचिलो पनि बन्दैनन् । हामी पनि समस्या समाधान होस् भन्ने चाहन्छौँ ।’ लामो छलफलपछि तराई–मधेसको आन्दोलनको समाधान गर्न सीमांकनसहित प्याकेजमा सहमति खोज्ने सहमति बनेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए । ‘छलफल सकारात्मक भएको छ ।

मधेसका समस्या समस्या समाधान गर्न सीमांकनसहित प्याकेजमा सहमति गर्ने सहमति बनेको छ,’ खड्काले नयाँ पत्रिकासँग भने । सीमांकनमा कसरी सहमति गर्ने भन्नेमा भने कांग्रेस र एमालेसँग छलफल गरेर त्रिपक्षीय वार्ता गर्ने सहमति बनेको छ । सहमतिअनुसार एमाओवादी अध्यक्ष प्रचण्डले बुधबार बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । ‘भोलि बिहान अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ, कांग्रेससँग पनि छलफल गरेर छिटै त्रिपक्षीय बैठक बस्ने कुरा भएको छ,’ खड्काले भने ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •