राजनीतिक गतिरोध अन्त्य गर्न प्रचण्ड सक्रिय

165
  •  
  •  
  •  

काठमाडौँ, १० पुस(ओएनएस) : नेपालमा जारी राजनीतिक गतिरोध अन्त्य गर्नका लागि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता देखाएका छन् । राजनीतिक गतिरोधको अन्त्य गर्ने सम्बन्धमा उनले शुक्रबार विभिन्न राजनीतिक दलहरूका नेतासँग भेटवार्ता गरेका छन् ।

उनले शुक्रबार बिहान नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए भने शूक्रबार नै उनले मधेसी मोर्चाका शीर्ष नेताहरूसँग छूट्टाछुट्टै छलफल गरेका छन् । उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।

उनले भेटका क्रममा संविधान संशोधन तथा जारी गतिरोध अन्त्यकालागि हुन सक्ने विकल्पका बारेमा छलफल गरेका थिए । उनले सबै नेताहरूसँग लचकताकासाथ अगाडि बढ्नका लागि आफू तयार रहेको बताउँदै अहिलेको अवस्थाबाट चाँडो निकास निकाल्नुपर्नेमा जोड दिएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

उनले मधेसी मोर्चाका नेताहरूसँग आन्दोलन र नाकाको धर्ना फिर्ता लिन आग्रह गरेका छन् । उनले जनताले धेरै दु:ख पाएको भन्दै गतिरोधलाई सकेसम्म चाँडो निकास दिनुपर्ने बताएका थिए ।

मोर्चाका नेताहरूले सिमांकनसहित प्याकेजमा सहमति हुने अवस्थामा आफूहरू तयार रहेको बताएका छन् ।


  •  
  •  
  •