काठमाडौं १३ चैत ।
मधेसी दलका युवाहरुले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेका छन् । विभिन्न मधेसी दलका युवाहरु आबद्ध संघीय समावेशी मधेसी युवा गठबन्धनले प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेको हो ।
वीरगन्जमा शुक्रबारदेखि दोश्रो वीरगन्ज व्यपार महोत्सव शुरु हुँदैछ । उक्त महोत्सव उदघाटन गर्न अध्यक्ष प्रचण्ड शुक्रबार वीरगन्ज आउने कार्यक्रम छ ।
महोत्सव उदघाटन गर्न माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार वीरगन्ज आउने थाहा पाएपछि मधेसी दलका युवाहरुले बिहीवार वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन गर्दै प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेका हुन् ।
उनीहरुले बिहिबार दिउँसो घण्टाघर चोकमा प्रचण्डको पुत्लासमेत जलाएका छन् । युवा गठबन्धन पर्साका अध्यक्ष ईश्वरचन्द्र यादव र सल्लाहकार ओम प्रकाश सर्राफको अगु्वाइमा रहेका मधेसी दलका युवाले घण्टाघर चोकमा प्रचण्डको पुत्ला जलाउनु साथै सरकार र ठूला तीन दलविरुद्ध नाराबाजी पनि गरे ।
मधेसी जनता विरोधी संविधान जारी गर्न प्रचण्डको मूख्य भूिमका रहेकाले उनलाई मधेसको भूमि वीरगन्जमा छिर्न नदिने चेतावनी दिँदै पुत्ला दहन गरिएको युवा गठबन्धन पर्साका सल्लाहकार सर्राफले बताए ।
आफुहरुको चेतावनी अटेर गरेर माओवादी अध्यक्ष प्रचण्ड वीरगन्जमा आए प्रतिकार पनि गरिने युवा गठबन्धन पर्साका अध्यक्ष यादवले चेतावनी दिए ।
‘मधेसी जनताको भावना कुल्चनकै लागि प्रचण्ड वीरगन्ज आउन लागेका हुन्’, यादवले भने, ‘यदि हाम्रो यो उर्दीलाई अटेर गरेर उनी वीरगन्ज आए भने हामी प्रतिकारमै उत्रन्छौँ । उनको कार्यक्रम सफल हुन दिन्नौ ।’
प्रदर्शनमा युवा गठबनधनका नेताहरु शेख मुन्ना, फिरोज बादसाह, असरफ मन्सुरी, विष्णु पटेल, अमीत कुमार, आनन्द गुप्ता , उमाशंकर कलवार र राजीव झा पनि सहभागी थिए ।
अन्नपूर्णपोष्टबाट