प्रचण्ड दरबारमा लाचार प्रधानमन्त्री

177
  •  
  •  
  •  

koiralaकाठमाडौं १७ माघ । एमाओवादी स्थायी कमिटीको बैठक सुरु हुनुअघि शुक्रबार अचानक प्रधानमन्त्री सुशील कोइराला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास लाजिम्पाट पुगे पनि राजनीतिक गतिरोधमा कुनै कमी आउन सकेन।

पूर्वनिर्धारित समय शुक्रबार अपराह्न १ बजे स्थायी समिति स्तरको बैठक प्रारम्भ हुनुभन्दा केही घन्टाअघि प्रचण्ड दरबारमा पुगेका कोइरालाले आफूले गेट क्र्यास गरेको बताएपछि केही समय दुई नेताबीच विद्यमान राजनीतिक परिस्थितिबारे सांकेतिक प्रश्नोत्तर भएको थियो।

‘गेट क्र्यासभन्दा पहिले वातावरण बनाउनु पर्दैन, त्यसै आउने?’ भन्ने दाहालको प्रश्नमा प्रधानमन्त्रीले सहज उत्तर दिँदै भने, ‘गेट क्र्यासका लागि केको वातावरण बनाउनुपर्‍यो?’

दाहालले स्थायी समिति बैठकमा प्रधानमन्त्री कोइरालासँग भएको भेटबारे दिएको जानकारी उद्धृत गर्दै नेता अग्निप्रसाद सापकोटाले अन्नपूर्णसँग भने, ‘प्रचण्डले एमाओवादीसहितको विपक्षी दलहरूको असहमतिका बाबजुद संविधानसभाको गत आइतबार बसेको बैठकले पारित गरेको प्रश्नावली प्रस्ताव निर्माण समिति खारेज गरेपछि अन्य कुरा अघि बढ्छ भन्नुभयो।’

प्रधानमन्त्रीले तत्कालै प्रत्युत्तर दिए, ‘म त्यो सक्दिनँ।’ किन सक्नुहुन्न भन्दै दाहालले पुन: प्रश्न राख्दा प्रधानमन्त्रीले भने, ‘एमाले मान्दैन।’

‘प्रश्नावली निर्माण समिति खारेज हुन सक्दैन भने सस्पेन्ड गर्नुहोस्’, दाहालले संशोधित सुझाव दिएको सापकोटाले बताए। ‘त्यो पनि सक्दिनँ’ कोइरालाको उत्तर थियो। त्यसपछि दाहालले अत्यन्त दु:ख व्यक्त गर्दै ‘कोइरालाजी तपार्इं कांग्रेसको सभापति, यो मुलुकको प्रधानमन्त्री कि एमाले?’ भन्ने प्रश्न राखे।

जबाफमा कोइरालाले ‘कोलिसनमा यस्तै हुन्छ’ भनेका थिए। प्रचण्डले भने, ‘उसो भए एमाओवादीसहितका विपक्षी दलले सत्तापक्षसँग वार्ता गर्दैनन्, संविधानसभा र व्यवस्थापिका संसद्का समितिहरूमा सहभागी हुँदैनन्, सीधैं जनतामा जान्छन् र जनताको निर्णय जे हुन्छ त्यो स्वीकार्छन्।’

करिब आधा घन्टाको निरर्थक वादविवादपछि कोइराला निरास हुँदै फर्के। प्रधानमन्त्री कोइराला सहिद दिवसका अवसरमा सहिदहरूलाई लैनचौरमा पुष्पहार चढाइसकेपछि त्यहाँबाट कसैलाई केही जानकारी नगराई सीधै दाहाल निवास पुगेका थिए। अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •