बाटो बदल्दै प्रचण्ड

190
  •  
  •  
  •  

prachandaकाठमाडौ, ७ बैशाख(ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान जारी गर्ने प्रक्रियाका लागि सकारात्मक देखिएका छन् । ३० दलीय गठबन्धनका नेता समेत रहेका उनी पछिल्ला दिनमा पार्टीका आन्तरिक छलफल र अन्य दलहरूसँगका राजनीतिक भेटवार्ताहरूमा उनले संविधानप्रति सकारात्मक र लचिलो रुपमा प्रस्तुत हुने संकेत देखाएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पनि उनले अब धेरै अल्मलिन नहुने र चाँडै निष्कर्षमा पुग्नुपर्ने बताएको बैठकमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एकातिर नेपाली कांग्रेस, नेकपा एमाले, संविधानसभाका अध्यक्ष र केही अन्तराष्ट्रिय शक्तिहरूले संविधान चाँडो जारी गर्न दबाब दिइरहेको र अर्कोतिर उनको नेतृत्वको ३० दलीय मोर्चाको आन्दोलन समेत निष्प्रभावी भएकोले प्रचण्ड अब संविधान जारी गरेर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेको उनीनिकट नेताहरूले बताएका छन् ।

किन फिर्ता लिए आन्दोलन ?
प्रचण्डले तीन दिने आमहडतालसहितको आन्दोलन दोस्रो दिनबाट किन फिर्ता लिए ? उनका पार्टीका नेता र कार्यकर्ता प्रचण्डलाई भेट्नेबित्तिकै यो प्रश्न गर्छन् । तर, प्रचण्डले आन्तरिक रूपमा निकालेको निष्कर्ष हो, अब मोर्चाबन्दीबाट आन्दोलन अघि बढ्न सक्दैन । आन्दोलन अगाडि बढ्ने भए आफूहरुको मात्रै बढ्ने निचोडमा उनी पुगेका छन् ।

आन्दोलन फिर्ताको निर्णय लिनुका पछाडि निश्चित कारण छन् । तीमध्ये एउटा कारण थियो, काठमाडौँको आन्दोलनमा भने जतिको मानिस आएनन् । प्रचण्डले आफूनिकट नेताहरूलाई बताएअनुसार, यदि प्रतिकार भएको भए त्यसलाई सामना गर्नेसम्मको हैसियत सडकमा देखिएन । यसबाट प्रचण्ड निराश भए । त्यसैले आन्दोलन धेरै लम्ब्याउनु प्रत्युत्पादक हुन सक्ने ठानेर आन्दोलन फिर्ताको निर्णयका लागि अन्य नेताहरूलाई मनाउनतिर लागे ।

तराईमा आन्दोलन केही उठ्न सक्ने देखिए पनि त्यसमा मधेसी दलका कार्यकर्ता थिएनन् । मधेशको आन्दोलन उठ्दा त्यसको जस आफूले भन्दा मधेशी दलले पाउने स्थिति थियो । यति मात्र होइन, अवध (नवलपरासी, कपिलपस्तु) क्षेत्रको आन्दोलनमा मधेशीलगायत अन्य दलबाट २० जना कार्यकर्ता पनि सडकमा ननिस्किएको रिपोर्ट प्रचण्डकहाँ पुग्यो । भोजपुरामा राज्य पक्षबाट चर्को दमन भयो तर त्यसमा सबै आफ्ना कार्यकर्ता मात्रै घानमा परेको र एकजना पनि संघीय समाजवादी पार्टी लगायत अन्य दलका रहेको पाएनन् ।

आन्दोलनका घाइतेको उपचारदेखि हरेक खर्च व्यवस्थापन गर्न आर्थिक स्रोत आवश्यक हुन्थ्यो । तर, परी आउँदा पैसा निकाल्ने व्यक्ति पनि अन्य पार्टीमा कोही पनि देखिएनन् । प्रचण्डनिकट एक नेताका अनुसार, चन्दा–सहयोगको अपेक्षा गरिएका उद्योग व्यवसायीले समेत ‘आन्दोलन फिर्ता लिनूस्, बरु सहमतिको लागि आफूहरु पनि प्रयास गर्ने’ भन्दै अनुरोध गर्न थाले । छुचो बन्नुपर्ने ठाउँमा आफू बनिने तर आन्दोलनको राजनीतिक लाभ अरुले समेत दावी गर्ने भएकाले प्रचण्ड आन्दोलन धेरै लम्ब्याउन नहुने निष्कर्षमा पुगे ।

आन्दोलन फिर्ता लिएर ठीक गरेको निष्कर्षमा एमाओवादी हेडक्वार्टर पुगेको छ । ‘यसरी फिर्ता लिँदा एकातिर जस पाइयो । अर्कातिर प्रतिकारको जोखिम उठाउनुपरेन,’ प्रचण्डले आफ्ना विश्वासपात्रहरूलाई भन्ने गरेका छन्, ‘आन्दोलनका नाममा अगाडि बढेर आमहडताल फिर्ता लिनुपरेको भए के हालत हुन्थ्यो ?’


  •  
  •  
  •