राजनीतिक समिति बनाएर विवाद मिलाउन मधेसवादी दल सकारात्मक : प्रचण्ड

146
  •  
  •  
  •  

पोखरा, ८ माघ(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक समिति बनाएर ३ महिनाभित्र विवाद मिलाउने विषयमा मधेसवादी दलहरू सकारात्मक रहेको बताएका छन् ।

पार्टीको आन्तरिक प्रशिक्षणमा आएका दाहालले शुक्रबार क्रान्तिकारी पत्रकार संघको भेटमा उनले मधेसी मोर्चासँग लगातार वार्ता र सम्वाद भइरहेको बताउँदै केही विषयमा सहमति समेत भइसकेको दावी गरेका छन् । अध्यक्ष प्रचण्डले आफूहरूले आगामी शनिबार संविधान संशोधन विधेयक पारित गर्ने प्रयास समेत गरिरहेको बताएका छन् । उनले संविधान संशोधनपछि मधेस आन्दोलन रोकिने र नाकाबन्दी खुल्ने बताएका छन् ।

उनले विराटनगरको रंगेलीमा भएको घटना दुःखद र दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले रंगेली घटनाले थप जटिलता ल्याउन सक्ने सम्भावनाप्रति आफूहरू गम्भिर रहेको बताए । उनले भूकम्पपछिको पुनर्निर्माण, संविधान संशोधन र संविधानको कार्यान्वयनका लागि कांग्रेस र मधेसबादी दलहरुसमेत सम्मिलित राष्ट्रिय सरकार आवश्यक रहेको बताए ।

दाहालले बाबुराम भट्टराइको नयाँ शक्ति ‘बुर्जुवा’ भएको बताए । ‘नाममात्रै नयाँ लेबल लगाइएको हो । तर शक्ति पुरानै हो,’ उनले भने, ‘शब्द नयाँ भएर भएन । बैचारिक र राजनीतिक हिसावले सबैभन्दा पुरानो बुर्जुवा विचार हो ।’

यस्तै, उनले प्रधानमन्त्री केपी ओलीका कारण मधेसी मोर्चासँग सहमति हुन नसकेको आरोपको खण्डन गरेका छन् । उनले संविधान संधोधनको प्रस्ताव ओलीकै नेतृत्वमा संसदमा पुगेकाले ओलीलाई सहमतिको बाधक भन्न नमिल्ने उल्लेख गरेका छन् ।


  •  
  •  
  •