विगतका सहमतिबाट पछि नहट्न प्रधानमन्त्रीलाई आग्रह

323
  •  
  •  
  •  

काठमाडौँ, २४ भदौ (ओएनएस) : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तोकिएकै समयमा संविधान जारी गर्न सबै वर्ग र पक्षबीच समान धारणा तयार पार्नुपर्ने बताउँदै त्यसमा विशेष पहल गर्न प्रधानमन्त्री कोइरालालाई आग्रह गरेका छन् ।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालासँग भेटगर्दै दाहालले तोकिएकै समयमा संविधान जारी विशेष पहल गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण र सर्वपक्षीय राजनीतिक सभालगायतका विषयमा कुराकानी भएको थियो।

अध्यक्ष दाहालको आग्रहमा प्रधानमन्त्री कोइरालाले सहमति कायम गर्न सरकारको तर्फबाट पहल भइरहेको जानकारी गराउँदै प्रमुख प्रतिपक्षी दलको तर्फबाट सहयोगको अपेक्षा गर्नुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । अध्यक्ष दाहालले दलहरुबीच गत पुस ९ गते भएको चारबुँदे सहमति कार्यान्वयन गर्न सरकार तयार नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्साको रुपमा रहेको नेकपा–माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउनसमेत अध्यक्ष दाहालले आग्रह गरेका थिए । जवाफमा आग्रहमा प्रधानमन्त्री कोइरालाले सरकारले सर्वपक्षीय सम्मेलनको विषयमा आवश्यक तयारी गरिरहेको जानकारी गराउँदै माओवादी अध्यक्ष मोहन वैद्यलाई तत्काल राजधानी आउन आग्रह गर्नुपर्ने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

दलहरुबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान र विभिन्न समयमा भएका सहमतिबाट कांग्रेस–एमालेका नेताहरु पछि हट्न खोजेको आफूलाई आभाष भएको भन्दै अध्यक्ष दाहालले विगतको सबै सहमति कार्यान्वयन गर्ने वातावरण बनाउन प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराएका थिए ।


  •  
  •  
  •